Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सिरहामा दलित परिवारको घर तोडफोड गरेको आरोपमा वडा अध्यक्षसहित तीन जना पक्राउ

सिरहामा दलित परिवारको घर तोडफोड गरेको आरोपमा वडा अध्यक्षसहित तीन जना पक्राउ


  • 1.5K
    Shares

    सिरहामा दलित परिवारको घर तोडफोड गरेको आरोपमा वडा अध्यक्षसहित तीन जना पक्राउ
    images

    काठमाडौं । सिरहा जिल्लाको कल्याणपुर अरङ गाउँमा पाँच दलित परिवारको घर तोडफोड र लुटपाटको आरोपमा वडा अध्यक्ष रामकिशोर यादवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पीडित दलित परिवारले दिएको उजुरीका आधारमा वडा अध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको हो । पीडितले दिएको जाहेरीमा १३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि आपराधिक उपद्रव अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

    हालसम्म तीन जनालाई पक्राउ गरिएको र बाँकी रहेका अभियुक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार शुक्रबार साँझ करिब ५ बजेतिर ठुलो पोखरीको उत्तरपट्टी बसोबास गर्दै आएका दलित समुदायका पाँच परिवारमाथि योजनाबद्धरूपमा हमला गरिएको थियो । 

    शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानका घरमा तोडफोड र लुटपाट गरिएको हो ।

    पीडित परिवारका अनुसार २०-२५ जनाको समूह आएर घरमा तोडफोड र लुटपाट गरेको थियो । प्रहरीकै सामु घटना भए पनि घर तोडफोड र लुटपाट गर्ने समूहलाई नियन्त्रणमा नलिएको पीडित परिवारले जनाएका छन् ।

    घटनाको सुरुवात असोज १ गते अरङ बजारमा आयोजित आर्केस्ट्रा कार्यक्रममा दलित समुदाय र प्रभाष सिंह समूहबिच विवाद भएको थियो । सो विवादकै प्रतिशोधस्वरूप यो हमला गरिएको पीडित र स्थानीयले आरोप लगाएका छन् ।

     

    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - १६:४४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij