२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । स्रोत नखुलेको रकम र शंकास्पद वस्तु भेटिनसक्ने सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले कांग्रेस सभापति शेरबहादुर देउवाका नातेदार तथा निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका भाइ भूषण राणाको घरसहित उपत्यकाका केही स्थानमा छापा मारेको छ ।
आइतबार दिउँसोदेखि रातिसम्म करिब ४–५ वटा ठाउँमा छापामारेको सीआइबीले जनाएको छ। अनुसन्धानकै क्रममा भएकाले कहाँ–कहाँ छापा परेको र के–के बरामद भएको भन्ने विवरण तत्काल सार्वजनिक गर्न नसकिने सीआइबी प्रमुख एआइजी मनोज केसीको भनाइ छ । जावलाखेलस्थित भूषण राणाको घरमा पनि प्रहरी पुगेको थियो । तर छापा मार्दा उनी घरमा थिएनन् । उनी हाल विदेशमा रहेको बताइएको छ । प्रहरीले भने शंका लागेका केही कुरामा मात्र खानतलासी भएको जनाएको छ ।
भूषण राणा विगतमा नियुक्ति, सरुवा–बढुवा र नीतिगत निर्णयमा दिदी(आरजु)–भिनाजु(शेरबहादुर) सत्तामा हुँदा प्रभावशाली बनेको आरोप लाग्दै आएको छ । उनले ठेक्कापट्टा र मेनपावर व्यवसायमा समेत संलग्न हुँदै आएको र पछिल्लो समय मलेसियासम्म पुगेको बताइन्छ।
यसअघि २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देउवा निवासमा आगजनी हुँदा जलेका नोट भेटिएको विषयमा समेत सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । अर्थ मन्त्रालयले स्रोत नखुलेको सम्पत्तिको खोजी र अनुसन्धानलाई निरन्तरता दिइरहेको जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij