२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो ।
‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने माग चर्को छ । तत्कालका लागि पासपोर्ट रोक्काकै निर्णय हुनेछ’ मन्त्रिपरिषद्सम्बद्ध स्रोतले भन्यो, ‘त्यसपछि थप कारबाही अघि बढ्ला ।’ स्रोतका अनुसार, पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको नाम किटेरै आएको छ ।
पासपोर्ट रोक्का गर्ने वाचलिस्टमा देउवा र पत्नी आरजु राणा देउवाको नामसमेत राख्ने गृहकार्य भएको उच्च अधिकारीहरूले जानकारी दिए । तिनका अनुसार यसबारे ठोस निर्णय भने हुन बाँकी छ । ती बाहेक अरूको हकमा सम्बन्धित फौजदारी उजुरी र अनुसन्धानको प्रारम्भिक नतिजा हेर्ने भनिएको उनले बताए ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमन गर्नेहरू पक्राउ पर्न सक्ने बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री अर्यालले राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेको भन्दै आयोगको सल्लाह र सिफारिस बमोजिम काम गर्ने दृढता व्यक्त गरे।
केही शीर्ष नेताको राहदानी रोक्का गर्ने विषयबारे पनि सञ्चारकर्मीले गृहमन्त्री अर्यालसँग जिज्ञासा राखेका थिए। ‘राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेका छन्। तत् तत् काममा यो कुरा लेखिसकिएको छ। के के गर्नुपर्छ भन्ने कुराहरू। त्यही बमोजिम हुन्छ’ उनले भने, ‘अनुसन्धान गर्ने निकायले के के रोक्नुपर्छ, त्यतिमात्र (राहदानी मात्र) किन होला? बयान पनि लिनुपर्ला। पक्राउ पनि गर्नुपर्ला। जे हुन्छ, त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो। आयोग गठन भएको छ। आयोगले काम गर्छ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij