Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आँखाको ज्योति फर्किएपछि चन्द्रावती : ‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’

आँखाको ज्योति फर्किएपछि चन्द्रावती : ‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’


  • 1.2K
    Shares

    आँखाको ज्योति फर्किएपछि चन्द्रावती : ‘अब  संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’
    images

    काठमाडौं । दुवै आँखामा मोतियाबिन्दुको कारण कैलालीको जानकी गाउँपालिका-२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन् ।

    दुई वर्ष अघिसम्म उनले दुवै आँखाको दृष्टि गुमाएकी थिइन् । उनले भनिन्, “मेरो आँखामा दृष्टि नहुँदा आफन्त, परिवार र वरिपरिको परिवेश मात्र होइन, आफ्नो जीवन नै अन्धकारमय बनेको थियो ।”

    चरम गरिबी र मोतियाबिन्दुको शल्यक्रिया पछि दृष्टि फर्किन्छ भन्ने  चेतनाका अभावमा चन्द्रावती अन्धकारमा जीवन बिताउन विवश थिइन्  ।

    दिनहुँका दैनिकी समेत अन्यका सहारा लिनुपर्दा उनले आफैँले आफैलाई एक्लो पाउँथिन् । दृष्टि गुमेपछिको पीडा सुनाउँदै उनले भनिन्,“दृष्टि नभएको मानिसको पीडा कस्तो हुन्छ भन्ने त केवल अनुभूतिले मात्र थाहा हुन्छ, यसलाई कसरी शब्दमा व्यक्त गर्न सक्दिन । असहाय महसुस गरेर समय काट्दथे ।”

    नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा गत भदौ ३१ गते चन्द्रावतीलाई आँखा परीक्षण गर्न ल्याइयो । अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा देवराज भारतीले मोतियाबिन्दुको शल्यक्रिया तत्काल गर्न सुझाव दिँदै उहाँले एकै पटक दुवै आँखाको शल्यक्रिया समेत गरे । 

    गुमेको ज्योति पुनः फर्किएपछि चन्द्रावतीले खुसी हुँदै भनिन्,“जीवनमा नयाँ आत्मविश्वास पलाएको  छ । ज्योति फर्किन्छ भन्ने कल्पनासम्म गरेको थिइन । जीवनमा नयाँ बिहान आएको छ । मलाई लाग्थ्यो अब संसार कहिल्यै देख्न पाउने छैन, आज फेरि सबै देख्न पाउँदा जीवन नयाँ बनेको छ । अब म आफ्नो परिवारको अनुहार स्पष्ट देख्न सक्छु, काम गर्न सक्छु, संसारसँग छामेर होइन, हेरेरसँग  आफैँ जुध्न सक्छु ।”

    आर्थिक अवस्था अत्यन्त कमजोर भएकी चन्द्रावतीको मोतियाबिन्दुको शल्यक्रिया अस्पतालले निःशुल्क गरेको थियो ।

    उनले भनिन्,“अस्पतालसम्म मलाई ल्याउने र मेरो उपचार गर्ने चिकित्सक भगवान्सरह हुनुहुन्छ ।  यस्तो सहयोग मैले कहिल्यै बिर्सन सक्दिन ।” 

    फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जका सामुदायिक कार्यक्रम अधिकृत उमेर अहमद सादिकले भने,“ यस्तो पुनर्स्थापना सम्भव भएको उपचारको पहुँच र सामुदायिक सहकार्यबाट भएको हो । चन्द्रावती जस्ता बिरामी आज पनि आर्थिक अभाव र जनचेतनाका कमीका कारण गाउँघरमै दृष्टिविहीन भएर बसिरहेका छन् ।  आँखा शिविरले उहाँहरूको जीवनमा पुनः उज्यालो ल्याउने काम गर्छन् ।” 

    अस्पतालका प्रबन्ध निर्देशक चिकित्सक कौशलकुमार बर्माका अनुसार अस्पतालले विभिन्न स्थानीय सरकार एवं दातृ निकायहरूसँगको सहकार्यमा मोतियाबिन्दु शिविरहरू सञ्चालन गर्दै आइरहेको छ ।

    उनले भने,“यसका कारण बिरामीहरूको आँखाको दृष्टि पुनः फर्किएको छ । चन्द्रावती एउटा पात्र मात्र हुनुहुन्छ । जहाँ उपचारको पहुँच र विभिन्न निकायसँगको सहकार्य उपचारबाट वञ्चितको जीवनको अन्धकारलाई उज्यालोमा परिवर्तन गर्न सकिन्छ ।”

    स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा नेपाल नेत्रज्योति सङ्घको २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ ।

    यस्तै ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

     

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १४:५४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij