Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

जेन–जी आन्दोलन

आगजनी गर्ने र तोडफोड गर्नेहरू भिडियो हेर्दै धमाधम पक्राउ

आगजनी गर्ने र तोडफोड गर्नेहरू भिडियो हेर्दै धमाधम पक्राउ


  • 869
    Shares

    आगजनी गर्ने र तोडफोड गर्नेहरू भिडियो हेर्दै धमाधम पक्राउ
    images

    काठमाडौं । प्रहरी कार्यालय आगजनी गर्ने, हतियार लुटपाट गर्ने र तोडफोड गर्ने व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन्। गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीलाई लक्षित गरी आक्रमण गर्ने, प्रहरी कार्यालय तोडफोड गर्न उक्साउने, बर्दी र सरसामान लुटपाट गर्ने, हतियार र गोली लिएर फरार हुने समूहप्रति प्रहरी आक्रामक भएर लागिपरेको छ।

    सामाजिक सञ्जालमा भेटिएका फुटेज, प्रहरीले फेला पारेका प्रमाण र विभिन्न फोटो र भिडियो हेर्दै प्रहरीले उनीहरूलाई पक्राउ गर्ने अभियान नै चलाएको छ। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले आन्दोलनका नाममा अपराध गर्ने, लुटपाट गर्ने, चोरी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याइने जानकारी दिए।

    भदौ २४ गते प्रहरी वृत कालीमाटी तोडफोड गर्ने, आगजनीमा मुख्य भूमिका खेल्ने काठमाडौं १३ घर भएका सचिन खड्का ‘गोल्डेन’ पक्राउ परेका छन्। ३८ वर्षीय खड्काले भदौ २४ मा भएको प्रदर्शनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने समूहको नेतृत्व गरेका थिए। सामाजिक सञ्जालमा भेटिएको भिडियोमा उनले प्रदर्शनका क्रममा आगजनी गरेपछि उनी थ्री–नटथ्री राइफल, खुँडा र खुकुरीसहित कालिमाटी प्रहरी वृत्त अघिल्तिर खुशी मनाइरहेको देखिन्छ। उनीमाथि काठमाडौं–१३ को वडा कार्यालय पनि आगजनी गरेको आरोप छ। 

    उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट लुटिएको ७ थान पेस्तोल फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–१६ स्थित खरिबोटबाट ७ थान पेस्तोल बरामद गरिएको हो। 

    पेस्तोल लुटेको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–८ घर भएका ३० वर्षीय हिराबहादुर मगर पक्राउ परेका छन्। पेशाले ट्याक्सी चालक उनले जेन–जी आन्दोलनका क्रममा ट्राफिक कार्यालयबाट लुटेको हतियार बागमती प्रदेश–०१–००२ प ६४४९ नम्बरको ट्याक्सीको डिक्कीमा लुकाएर राखेका थिए। विशेष सूचनाका आधारमा प्रहरीले टाइप–५४ पेस्तोल ७ थान र एसएलआरको गोली ३३ राउन्ड बरामद गरेको हो।

    यस्तै, प्रहरी प्रभाग इमाडोलमा आगजनी र तोडफोड गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। गत भदौ २४ गते भएको आन्दोलनमा उनीहरूले इमाडोल प्रहरी कार्यालय तोडफोड गर्ने र प्रहरीको लत्ताकपडा चोरी गरेको भिडियो सार्वजनिक भएको थियो। पक्राउ पर्नेमा काभ्रेका २० वर्षीय राजकुमार तामाङ, धनकुटाका २२ वर्षीय गोकर्ण राई, रामेछापका २० वर्षीय कृष्णराज गिरी, उदयपुरका ३१ वर्षीय सुनीलकुमार बस्नेत, सोलुखुम्बुका २२ वर्षीय सरोज नेपाली र सिन्धुलीका २१ वर्षीय नरेश तामाङ छन्।

    ​​​​​​​ललितपुरको कुपण्डोल र हनुमानस्थान प्रहरी प्रभाग तोडफोडमा संलग्न २ जना पक्राउ परेका छन्। ललितपुरकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीका कुपण्डोल बस्ने २४ वर्षीय धिरेन्द्र चन्द पक्राउ परेका हुन्। 

    ​​​​​​​काठमाडौंको नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र अन्य प्रहरी कार्यालयको सहकार्यमा उनीहरू विभिन्न स्थानबाट पक्राउ परेका हुन्। 

    ​​​​​​​आन्दोलनका क्रममा कारागारबाट भागेका दुई अमेरिकी नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता धर्मराज भण्डारीका अनुसार एकजना अमेरिकी नागरिक बाल यौन दुराचार मुद्दामा कैद भुक्तान गरिरहेका थिए। अर्को जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए। 

    पक्राउ पर्नेमा अमेरिकी नागरिक माइकल नोर्मन टेलर र जसोन लोड मुडी रहेका छन्। टेलर बालयौन दुराचार मुद्दामा जेल परेका थिए। मुडी जबर्जस्ती करणी मुद्दामा जेल परेका थिए। विशेष सूचनाका आधारमा उनीहरूलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो। 

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - ०८:४७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij