२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् पूर्णता दिने विषयमा मन्त्रीसहित जेनजीका प्रतिनिधिसँग पनि छलफल गरिरहेकी छन्। सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीसहितको बैठक चलिरहँदा हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङ पनि पुगेका छन्।
प्रधानमन्त्री कार्कीले बाँकी रहेका ७ मन्त्री आजै टुंगो लगाउने प्रयास गरिरहेकी छन्। मन्त्रीसँग छलफलमै रहेका बेला गुरुङ पनि पुगेका हुन्। गुरुङ पछिल्लो समय जेनजीको प्रतिनिधिको रुपमा प्रधानमन्त्री कार्कीसँग सम्पर्कमा छन्। उनले केही मन्त्री छान्नका लागि नाम पनि दिएको जानकारी प्राप्त भएको छ।
आजै गुरुङलाई जेनजी आन्दोलनका घाइतेहरूले जेनजीको नेता हुँ भन्दै नहिँड्न चेतावनी दिएका थिए। आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका जेनजी आन्दोलनका घाइतेहरूले नेता (लिडर)हुँ भन्दै नहिँड्न भनेका हुन्। जेनजीका घाइतेहरू आज गृहमन्त्रीलाई भेट्न सिंहदरबार जानेक्रममा सिंहदरबार दक्षिण गेटमा रोकिएका थिए। सिंहदरबार प्रवेश नदिएपछि उनीहरू गेटमै धर्ना बसेका थिए।
उनीहरूले गुरुङको गतिविधिमाथि प्रश्न उठाए। जेनजीको नेता भनेर मन्त्री छनोटका विषयमा जेनजीको भावना स्थापित गराउन नसकेको, संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा सहभागी भएको विषयमा पनि जेनजीहरूले प्रश्न उठाएका छन्। जेनजीहरूले भने उनको विरोध गरिरहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij