२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । राजधानीको एउटा जेलमा सुन्दै अचम्मको सुविधा छ । केही कैदीबन्दीले वर्षौंदेखि लाखौंको साउना, स्टिम, जीम, होटलसरहको व्यवसाय चलाउँदै आएको तथ्य खुलेको छ । गत मंगलबार भीडको आडमा नख्खू कारागारबाट रास्वपा सभापति रवि लामिछाने निस्केपछि अन्यत्रबाट समेत १४ हजार कैदीबन्दी भागेका छन् । सोही क्रममा रित्तो सुन्धारा नजिकैको भद्र जेलभित्र यस्तो सुविधा देखिएको हो ।
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनलाई मीनभवनमा गोली हानेर हत्या गरेको आरोपमा जेल परेका समीरमानसिंह बस्न्यात र रानीबारी हत्याकाण्डमा संलग्न मनकुमार गुरुङले जेलर कृष्णबहादुर कटवालसँग कुरा मिलाएर वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको बताइन्छ । त्यहाँका सबै बन्दी ‘रविलाई छाड्ने, हामीलाई किन राख्ने ?’ भन्दै निस्किएपछि केही सम्पर्कमा आए पनि धेरै जना अझै फरार छन् ।
उक्त जेलमा श्रीमती हत्याका आरोपित सशस्त्र डिआइजी रञ्जन कोइराला र नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका एमाले पूर्वसचिव टोपबहादुर रायमाझी पनि थिए । ती सबै भागेपछि जारी सूचनाका आधारमा जेलमा सम्पर्क राख्न पुगेका केही कैदीले परिवारलाई जानकारी गराएपछि उक्त सुविधाको तथ्य बाहिरिएको हो । रायमाझी र कोइरालाले पनि जेलभित्र सञ्चालित व्यवसायको विरोध गरेको उनीहरुको दावी छ ।
सोही स्रोत भन्छ, ‘जेलमा भाइ नाइके नियुक्त गर्दा सातदेखि आठ लाख रुपैयाँसम्म लेनदेन हुने गरेको छ ।’ यता, जेलबाट निस्केपछि भोलिपल्टै रञ्जन र रायमाझीले फर्किने इच्छा प्रकट गर्दै प्रशासनमा सम्पर्क गरेका थिए तर जेलर कटुवालले ‘अहिले नआउनुस्, भित्रका केटाहरूले मान्दैनन्, सुरक्षा दिन सकिँदैन’ भन्दै तर्किएको बुझिएको छ । (जनआस्था साप्ताहिकको असोज १ गते बुधबारको अंकमा प्रकाशित)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij