Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आज दिनभरको १९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको १९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 932
    Shares

    आज दिनभरको १९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. विषेश महाधिवेशनबारे निर्णय गर्न छिट पार्टी बैठक बस्छः काँग्रेस नेता रिजाल 

    नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले कार्यसम्पदान समितिको बैठकले गरेको निर्णयका आधारमा पार्टीलाई अगाडि बढाउने बताउनुभएको छ । पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको विषेश महाधिवेशन गर्ने/नगर्नेबारे निर्णय गर्न छिटै पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने उहाँको भनाइ छ । उहाँले जेन जी आन्दोलनको क्रममा नेपाली काँग्रेसजस्तो अग्रगामी र लोकतान्त्रिक पार्टीका संरचनामाथि भएको आक्रमण निन्दनीय भएको भन्दै खेद व्यक्त गर्नुभयो । 

    २. नयाँ पुस्ता नै नयाँ शक्ति र नेपालको भविष्य– डा. बाबुराम भट्टराई
    “जेन-जी पुस्ताले उठाएका मुद्दा सामान्य रुपमा नलिऔँ” – डा. बाबुराम भट्टराई

    नेपालको राजनीति फेरि एउटा निर्णायक मोडमा आइपुगेको छ । निरन्तरको अस्थिरता, पुराना दलहरूको असफलता, युवापुस्ताको बढ्दो असन्तोष र आन्दोलन, अनि संविधानको प्रयोगमा देखिएको विवादास्पद अवस्थाले नयाँ बहसलाई जन्म दिएको छ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सडकमा पोखिएको युवाको अभिव्यक्तिलाई सामान्य विरोधको रूपमा नलिन सबैलाई आग्रह गर्नुभएको छ । उहाँकाअनुसार यो आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो, जसले भविष्यमा नयाँ राजनीतिक संरचना निर्माण गर्ने संकेत दिएको छ ।

    ३. धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

    सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बूको कमाण्डमा खटिएको २७ जनाको टोलीले शुक्रवार सो गाँजा बरामद गरेको हो । 

    ४. तत्कालीन सरकारको हठ र समाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण बन्योः माओवादी नेता पोखरेल

    नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्यता बढेकोमा सरकारको नेतृत्वमा रहनेहरु परिवारवादमा लिप्त हुँदा युवाहरु आन्दोलित भएको उहाँको भनाइ छ । 

    ५. जेन–जी आन्दोलनबाट वागमती प्रदेश सभाको ३५ करोड बराबरको क्षति

    वागमती प्रदेशको राजधानी हेटौंडामा जेन–जी आन्दोलनबाट प्रदेश सभा भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । प्रदेश सभाको हालै सञ्चालनमा ल्याइएको अस्थायी भवन र पुरानो भवन दुवै जेनजीको निशानामा परेको थियो । प्रदेश सभा भवन क्षतिग्रस्त हुदाँ ३० देखि ३५ करोड बराबरको क्षति भएको आँकलन गरिएको छ । हेटौंडामा रहेका अन्य सरकारी संरचना, मन्त्रालय तथा कार्यालयमध्ये सबैभन्दा ठूलो क्षति प्रदेश सभा भवनमै भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

    ६. जेन जी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली दिँदै काँग्रेस काठमाडौं महानगर समितिद्वारा दीप प्रज्वलन

    नेपाली काँग्रेसको काठमाडौं महानगर समितिको जेन जी आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ । शनिवार साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भइ काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो । गत भदौ २३ र २४ गते देशभर भएको जेन जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको छ । सयौँ मानिसहरु उपचाररत छन् । आन्दोलनका मृतकको चीर शान्तिको कामना गर्दै समितिले दीप प्रज्वलन र श्रद्धाञ्जली अर्पण गरेको हो । 

    ७. कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको छानविन गरी दोषिलाई कारबाही गर्नुपर्छः नेता गैरे

    नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गरिनुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मुल आधार भएको उल्लेख गर्दै उहाँले  दलहरुले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिनुभयो । 

    ८. अन्तरिम सरकारको अबको अर्जुनदृष्टिः ‘शान्ति, सुशासन र निर्वाचन’

    वि.सं.२०८२ साल हरेक नेपालीका लागि अविष्मरणीय रह्यो । ०८२ को भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन नेपालको इतिहासमा अब नेपालीहरुले कहिल्यै बिर्सिने छैनन् । जेन जी आन्दोलनबाट प्राप्त उपलब्धिसँगै विध्वंशलाई हरेक नेपालीले स्मरण गर्नेछन् । पुराना नेता र राजनीतिक दलहरुको पञ्जाबाट जेन जीले देशलाई पार लगाउँछन् वा त्यही पुराना राजनीतिक दल र पुरानै नेताहरु मध्यावधि निर्वाचनबाट शासन सत्तामा पुग्छन् त्यो अझै हेर्न बाँकी नै छ । अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउने मिति नै तोकिसकेको छ । भदौ २७ मा जेन जीको समर्थनमा सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अहिले चार सदस्यीय मन्त्रीमण्डल विस्तार भइसकेको छ भने अझै विस्तार हुने क्रम जारी छ । 

    ९. जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए गोली खान तयार छौँः घाइते परिवार

    जेनजी आन्दोलनको घाइते परिवार सरस्वती रावलले जेन—जी आन्दोलनको बलिदानीलाई सरकारले सम्बोधन गनुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए आफू गोली खान तयार भएको बताउनुभएको हो । जेन—जी आन्दोलन परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा शुरु भएको उहाँको भनाई छ । आन्दोलनमा जेनजीहरुको ठूलो संख्यामा बलिदानी भएको उहाँले बताउनु भयो । हजारौँको संख्यामा घाइतेहरु छन् । 

    १०. दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो

    राजधानीबाट गाउँघरमा दशैँ मनाउन जानेहरुको चहलपहल शुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । यातयात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । टिकट बुकिङ खुला नभएका कारण मानिसहरु यसपटक घटस्थापना अगाडदेखि नै घर जान थालेका हुन् । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनितिक परिस्थितिले अधिकांश विद्यालय, क्याम्पसहरु विदा भइसकेका छन् । 

    ११. दशैँमा काठमाडौंबाट बाहिरिने सार्वजानिक सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइने

    सरकारले दशैँमा काठमाडौंबाट बाहिरिने सार्वजानिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङ्गमार्ग प्रयोग गर्न दिने निर्णय गरेको छ । शनिवार उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो । भौतिक पुर्वाधार तथा यातयातमन्त्री घिसिङले नागढुंगा–सिस्नेरी सुरुङ्गमार्गलाई परिक्षणको रुपमा सार्वजानिक सवारीलाई दशैँ अगाडी नै सञ्चालन गर्ने बताउनु भयो ।

    १२. विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र अवरुद्ध सडक खुल्छः सचिव शर्मा

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरु विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताउनुभएको छ । शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उहाँले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिनुभएको हो । हाल मौसमका कारण सडक अवरुद्ध भएको उल्लेख गर्नुहुँदै उहाँले सडक खुलाउन मन्त्रालय र सडक विभागको टिम सक्रिय रहेको बताउनु भयो । 

    १३. इजरायली सेनाद्वारा गाजामा भएको हवाई आक्रमणमा हमासका वरिष्ठ लडाकु मारिएको दाबी

    इजरायली सेनाले शुक्रवार इजरायली सुरक्षा एजेन्सीसँगको समन्वयमा गाजा पट्टीमा आक्रमण गरेको र एक वरिष्ठ हमास नेताको मृत्यु भएको बताएको छ । सेनाद्वारा जारी विज्ञप्तिअनुसार उत्तरी गाजा पट्टीमा कार्यरत सेनाले हवाई आक्रमणको निर्देशन दिएको थियो । जसमा हमासको बुरेइज बटालियनका सैन्य गुप्तचर उपप्रमुख सिम महमूद युसुफ अबु अलखिरको मृत्यु भएको बताइएको छ । 

    १४. इयु आयोगद्वारा रूसमाथि १९ औं प्रतिवन्ध प्याकेज प्रश्ताव

    युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले शुक्रवार रूसमाथि प्रतिवन्धको १९ औं प्याकेजको लागि आयोगको प्रश्ताव घोषणा गर्नुभएको छ । जुन मुख्यतया ऊर्जा र वित्तीय क्षेत्रहरूलाई लक्षित गरेको छ । एक विज्ञप्तिअनुसार युरोपेली संघले ब्लकको बजारमा रूसी तरल प्राकृतिक ग्यासको आयातमा प्रतिवन्ध लगाउने र रूसी कच्चा तेलको मूल्य सीमा प्रति ब्यारेल ४७.६ अमेरिकी डलरमा घटाउने योजना बनाएको छ । रूसी ऊर्जा कम्पनीहरू रोसनेफ्ट र ग्याजप्रोम्नेफ्टले पूर्ण व्यापार प्रतिवन्धको सामना गर्नेछन् । 

    १५. ट्रम्पद्वारा रोजगारदाताहरूको लागि एच प्लस १ बी भिसा शुल्क बढाएर १ लाख अमेरिकी डलर पु¥याउने घोषणामा हस्ताक्षर

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार एच प्लस १ बीआवेदकहरूलाई प्रायोजित गर्न कम्पनीहरूले तिर्ने शुल्क बढाएर १ लाख डलर पु¥याउने घोषणामा हस्ताक्षर गर्नुभएको छ । यो कदम संयुक्त राज्य अमेरिकाले उच्च दक्ष प्रतिभा ल्याउने कुरा सुनिश्चित गर्न रहेको बताइएको छ । जसलाई अमेरिकी कामदारहरूले प्रतिस्थापन गर्न सक्दैनन् । कार्यक्रमको प्रणालीगत दुरुपयोगमार्फत अमेरिकी कामदारहरूको ठूलो मात्रामा प्रतिस्थापनले अमेरिकाको आर्थिक र राष्ट्रिय सुरक्षा दुवैलाई कमजोर बनाएको घोषणामा भनिएको छ । 

    १६. पाकिस्तानमा बम विस्फोटः ६ जनाको मृत्यु

    पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीवार भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएको अधिकारीहरूले बताएका छन् । पाकिस्तान–अफगानिस्तान सीमा नजिकै रहेको चमन जिल्लाको ट्याक्सी स्ट्यान्डमा विस्फोट भएको थियो ।  उद्धार ११२२ का अनुसार पीडितहरूलाई जिल्ला मुख्यालय अस्पतालमा सारिएको छ । घाइतेहरूको अवस्था गम्भीर छ । घटनाबारे थप अनुसन्धान भइरहेको र सुरक्षा बलले घटना क्षेत्रलाई घेराबन्दी गरेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । 

    १७. रूसी आणविक पनडुब्बीहरूद्वारा ओखोत्स्कको समुन्द्रमा क्षेप्यास्त्र प्रक्षेपण

    रूसको प्रशान्त महासागरको दुई आणविक शक्ति सम्पन्न पनडुब्बीहरूले ओखोत्स्कको समुन्द्रमा नौसेना अभ्यासको क्रममा क्रूज क्षेप्यास्त्रहरू सफलतापूर्वक प्रक्षेपण गरेको फ्लीटले शुक्रवार जनाएको छ । बहुउद्देश्यीय पनडुब्बीहरू क्रास्नोयास्र्क र ओम्स्कले २५० किलोमिटरभन्दा बढी टाढा रहेको तोकिएको समुन्द्री लक्ष्यमा ओनिक्स र ग्रानिट क्रूज क्षेप्यास्त्रहरू प्रहार गरेको फ्लीटको प्रेस सेवाले एक विज्ञप्तिमा जनाएको छ । अनुगमन तथ्याङ्कले देखाएको छ कि तीनवटै क्षेप्यास्त्रहरू सिधै लक्ष्यमा प्रहार गरेका थिए । 

    १८. स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैनः इन्जिनियर्स एशोशिएशन

    नेपाल इन्जिनियर्स एशोसिएशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले जेन्जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताउनुभएको हो । शनिवार सो मन्त्रालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताउनु भयो । दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको आफूहरुको प्रारम्भिक निरीक्षणले देखाएको अध्यक्ष बरालले बताउनु भयो । 

    १९. स्वास्थ्य मन्त्रालयको सफाई अभियानमा जुटे सहकारी पीडितहरु

    जेनजी प्रदर्शनकारीहरुले ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सफाई अभियानमा सहकारी पीडितहरु समेत सहभागी भएका छन् । शनिवार काठमाडौंको रामशाहपथस्थित सो मन्त्रालयमा उनीहरु सफाई अभियानमा जुटेका हुन् । सो मन्त्रालयको भवनबाट नै छिट्टै सेवाग्राहीको काम हुनसक्ने वातावरण निर्माणमा लागि आफूहरु पनि सफाई अभियानमा सहभागी भएको सहकारी पीडित कुशलभ केसीले जानकारी दिनुभयो । -न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन ४ २०८२ शनिवार - २१:१९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij