२०८२ आश्विन २७ गते सोमवार
वीरगन्ज । जेनजी आन्दोलनका क्रममा अराजक समूहको तोडफोड र आगजनीबाट ध्वस्त भएका भौतिक संरचनाहरू पुनर्निर्माण र व्यवस्थापनका लागि वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट संशोधन गरेको छ।
शनिबार नगरसभा गृहमा सम्पन्न महानगरको १८ औं विशेष अधिवेशन (विशेष नगरसभा) ले चालू आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको हो। विशेष नगरसभामा महानगरका मेयर राजेशमान सिंहले पेस गरेको पुनर्निर्माणसम्बन्धी प्रस्ताव नगरसभाले सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जानकारी दिए।
यसअघि गत भदौ ३१ गते बसेको महानगरको कार्यपालिका बैठकपछि प्रमुख प्रशासकीय अधिकृत कर्णले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समूहले महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना र गाडीमा गरेको आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त हुँदा १ अर्ब १५ करोडभन्दा बढीको क्षति भएको जानकारी सार्वजनिक गरेका थिए। महानगरपालिकाको सम्पत्ति खरानी बनेपछि नगरवासीलाई सेवा प्रवाहमा निरन्तरता दिन पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै शनिबारको विशेष नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेर पुनर्निर्माण कार्यमा खर्च गर्ने निर्णय गरेको कर्णले जानकारी दिए।
यसअघि वीरगन्ज महानगरको १७ औं नगर परिषदले चालू आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो। उक्त बजेटभित्रका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रममा विनियोजन गरिएको रकमलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय विशेष नगरसभाले गरेको कर्णले बताए। अहिले महानगर र वडाका विकासे योजनाहरू स्थगित गरि कार्यपालिका बैठकबाट पुनर्निर्माणका कार्यहरूको शीर्षक तर्जुमा गर्ने प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए। यसरी संशोधित बजेटमार्फत तत्काल पुनर्निर्माण, भौतिक संरचना पुनःस्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइने उनले बताए।
त्यसैगरी, शनिबारको विशेष नगरसभाले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का युवा असहाब आलमको परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णयपनि गरेको कर्णले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij