Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आज दिनभरको ३६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 1.2K
    Shares

    आज दिनभरको ३६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. संविधान दिवसलाई संघीय लोकतान्त्रिक मोर्चाले कालो दिनको रुपमा मनायो

    संविधान जारी भएकै दिन संघीय लोकतान्त्रिक मोर्चाले कालो दिनको रुपमा मनाएको छ । जनकपुरधाममा अपूर्ण संविधान रहेको भन्दै संघिय लोकतान्त्रिक मोर्चामा आवद्ध दलहरु जनक चोकमा जम्मा भएर प्रदर्शन गर्दै कालो दिन मनाएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव परमेश्वर साहले संविधानमा रहेका कमी कमजोरी, विभेदकारी दफाहरु संशोधन हुनुपर्छ हाम्रो माग रहँदै आएको बताउनु भयो । 

    २. शुरु हुन थाले प्रभावित मिसन–२६ को विशेष प्रशिक्षण

    जेन जी आन्दोलनका कारण प्रभावित मिसन–२०२६ अन्तर्गत नेपाली राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण फेरि सुचारु हुन थालेको छ । आगामी २० औं एशियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म जापानमा हुँदै छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोही एशियाली खेलकुदको तयारीका लागि २०८० साल माघ १५ गतेदेखि विशेष प्रशिक्षण शुरु भएको थियो । १९ औं संस्करणको एशियाली खेलकुद सोही वर्षको असोज ६ देखि २१ गतेसम्म चीनको हाङझावमा भएको थियो । 

    ३. लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीः प्रधानमन्त्री कार्की

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन जी पुस्ताको आन्दोलन गरिएका प्रतिवद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा हामी खरो उत्रिन नसक्नुको परिणाम भएको बताउनु भयो । 

    ४. राष्ट्रिय मुक्ति क्रान्ति नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनायो

    राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ । असोज ३ गते नेपालमा संविधान दिवस मनाइन्छ । २०७२ सालको असोज ३ मा संविधान जारी भएसँगै हालसम्म असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ । तर मधेसवादी राजनीतिक दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालले भने काठमाडौंमा शिरमा कालोपट्टी बाँधेर विरोध जनाएको हो ।

    ५. माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरुको पार्टीः अध्यक्ष दाहाल

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भएपनि आत्मसमीक्षा गरेको र माओवादी केन्द्र फरक चिज भएको बताउनु भयो । 

    ६. भारतस्थित नेपाली राजदुतावासमा मनाइयो संविधान दिवस

    भारतको राजधानी दिल्लीस्थित नेपाली राजदुतावासमा संविधान दिवस मनाइएको छ । संविधान दिवसको अवसरमा भारतका लागि नेपाली राजदुत डा. शंकर शर्माले राजदुतावास प्राङ्गणमा राष्ट्रिय भण्डा फहराउनुभएको थियो । समारोहमा संक्षिप्त बोल्दै राजदुत शर्माले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई संविधान दिवसको शुभकामना व्यक्त गर्नुका साथै नेपालमा हालै भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रती श्रद्धाञ्जली व्यक्त गर्नुभयो । 

    ७. बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुँदैनः महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न नसकिने बताउनु भयो । 

    ८. प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन होस्ः अध्यक्ष ओली

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन जी पुस्ताको आन्दोलनमा सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको बताउनु भयो । घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको र धेरै युवाहरुको ज्यान गएको बताउनु भयो । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने माग गर्नुभयो । 

    ९.टुँडिखेलमा मनाइयो संविधान दिवस

    काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । शुक्रवार बिहान टुँडिखेलमा एक समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका छन् । सुरक्षा निकायका विभिन्न समूहहरूले मार्च पास गरेका छन् । सुरक्षा निकायहरुले ब्याण्ड प्रदर्शन समेत गरेका छन् ।

    १०. जेन जीको आवरणमा हिंसा भड्काइयो, राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास हुँदैनः विद्यादेवी भण्डारी

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताउनुभएको छ । शुक्रवार जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुग्नुभएकी उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताउनु भयो । उनीहरु बस्ने भौतिक संरचनाहरु बनाउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । 

    ११. जेन जी आन्दोलनबाट क्षतिग्रस्त काँग्रेस पार्टी कार्यालयको निरीक्षणमा पुगे एमाले नेताहरु

    नेकपा एमालेका नेताहरु काँग्रेस पार्टी कार्यालय पुगेका छन् । शुक्रवार मध्यान्ह एमाले नेताहरु काँग्रेस पार्टी कार्यालयमा पुगेका हुन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल लगायतका नेताहरुले जेन जी आन्दोलनका क्रममा आगजनी तोडफोड भएको काँग्रेस पार्टी कार्यालयमा पुगेर निरीक्षण गरेका हुन् । जेन जी आन्दोलनका क्रममा काँग्रेससहित नेकपा एमालेको पनि पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो । 

    १२. जेन जी आन्दोलनबाट क्षति पुगेका भौतिक संरचनाहरुमा रङरोगन हुँदै

    जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सिंहदरबारस्थित मन्त्रालयका भवनहरुमा रङरोगन शुरु गरिएको छ । भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, अदालतहरुमा आगजनी र तोडफोड गरिएको थियो । उक्त भवनहरुको अहिले रङरोगन शुरु गरिएको छ । साथै छिटै पुनःनिर्माण गरिसक्ने सरकारको लक्ष्य छ । 

    १३. जेन जी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएः रघुवीर महासेठ

    नेकपा एमालेका सचिव रघुवीर महासेठले जेन जी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएको आरोप लगाउनुभएको छ । गृहनगर जनकपुरधाममा सञ्चारकर्मीहरुसँग शुक्रवार कुरा गर्दै सचिव महासेठले यस्तो बताउनुभएको हो । उहाँले आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा जेन जी युवाहरूको संलग्नता नरहेको बताउनुभ यो । उहाँले आन्दोलनका क्रममा लोकतन्त्र समाप्त पार्ने नियतले योजनावद्ध रूपमा हिंसा मच्चाइएको दाबी गर्नुभयो ।

    १४. काँग्रेसको केन्द्रिय कार्य सम्पादन समिति बैठक जारी

    नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । शुक्रवार मध्यान्हबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । पार्टी कार्यालय जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि क्षतिग्रस्त छ । आन्दोलनपछि पहिलो पटक पार्टीको केन्द्रिय कार्य समितिको बैठक सानेपामा बसेको हो । 

    १५. जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भयोः अष्टलक्ष्मी शाक्य

    नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश नै रोइरहेको भन्दै अब शोकलाई शक्तिमा परिणत गर्नुपर्ने बताउनु भयो । नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज नभएको बताउनु भयो । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको जिकिर गर्नुभयो । 

    १६. एमालेभित्र कुनैपनि किसिमको विग्रह हुन दिँदैनौँः वरिष्ठ उपाध्यक्ष पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गर्नुभएको छ । संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेभित्र अब के हुन्छ ? भनेर शंका गर्नेहरुप्रति लक्षित गर्दै एमालेलाई कुनै पनि किसिमको विग्रह हुन नदिने बताउनु भयो । 

    १७. आगजनी भएका सवारीसाधनहरुको व्यवस्थापन शुरु

    जेन जी आन्दोलनका क्रममा सिंहदरबारभित्र आगजनी भएका सवारीसाधनहरुको व्यवस्थापन शुरु गरिएको छ । अन्तरिम सरकारले सिंहदरबारभित्र जेन जी आन्दोलनकारीले जलाएका सवारीसाधनहरुको व्यवस्थापन शुरु गरेको हो । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा सवारीसाधनसहित सरकारी र निजी सम्पतीमाथि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनी भएका सवारीसाधनहरु नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर, टेकु र कपनमा राखिएको छ ।

    १८. अमेरिकी फेडद्वारा यस वर्षको पहिलो दर कटौती

    अमेरिकी फेडरल रिजर्भले बुधबार संघीय कोष ब्याज दरको लागि लक्ष्य दायरा २५ आधार बिन्दुले घटाएर ४ देखि ४.२५ प्रतिशतमा पु¥याउने निर्णय गरेको छ ।  जुन डिसेम्बर २०२४ पछिको पहिलो दर कटौती हो । हालैका सूचकहरूले वर्षको पहिलो आधामा आर्थिक गतिविधिको वृद्धि मध्यम भएको सुझाव दिन्छ । रोजगारी वृद्धि सुस्त भएको छ । बेरोजगारी दर बढेको छ तर कम नै छ । मुद्रास्फीति बढेको छ र केही हदसम्म माथि रहेको छ । 

    १९. इजरायलद्वारा गाजा शहरमा आक्रमण जारी

    इजरायली अधिकारीहरूले गाजा शहरमा इजरायली सैनिकको आक्रमण जारी रहेको बताएका छन् । ट्याङ्कहरू शहरमा आक्रमण गर्दै बहु–तले भवनहरू भत्काएको बताइएको छ । लगभग दुई वर्ष पुरानो आक्रमणमा प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ६५ हजार नाघेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली गोलीबारीबाट कम्तिमा ९८ जनाको मृत्यु भएको र ३८५ जना घाइते भएको रिपोर्ट गरेका छन् । जसबाट एन्क्लेभमा कुल मृत्यु हुनेको संख्या ६५ हजार ६२ पुगेको छ भने १ लाख ६५ हजार ६ सय ९७ जना घाइते भएका छन् । 

    २०. इजिप्टका राष्ट्रपति र स्पेनी राजाद्वारा गाजामा तत्काल युद्धविराम गर्न आग्रह

    इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र स्पेनी राजा फेलिप छैठौंले गाजा पट्टीमा तत्काल युद्धविराम, वन्धकहरूको रिहाइ र मानवीय सहायताको निर्वाध वितरणको लागि आह्वान गर्नुभएको छ । अल इतिहादिया राष्ट्रपति भवनमा भएको बन्द कोठाको बैठकमा दुई नेताहरूले चेतावनी दिनुभयो की प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापनले क्षेत्रीय अस्थिरतालाई अझ खराब बनाउनेछ । युरोपतिर अवैध बसाइँसराईलाई बढावा दिनेछ । 

    २१. इयु आयोगले इजरायलको लागि व्यापार प्राथमिकताहरू निलम्वन गर्ने

    युरोपेली आयोगले युरोपेली संघ (इयु) परिषद्मा इजरायललाई दिइएको व्यापार प्राथमिकताहरूको आंशिक निलम्वन गर्ने प्रश्ताव पेश गरेको बताएको छ । जसमा इजरायललाई दिइएको व्यापार प्राथमिकताहरूको आंशिक निलम्वन र केही इजरायली मन्त्रीहरू, बसोवास गर्नेहरू र सम्बन्धित संस्थाहरूमाथि प्रतिवन्ध लगाउन सिफारिस गरिएको छ । इयुका एक वरिष्ठ अधिकारीकाअनुसार यो कदम इजरायलसँगको व्यापार रोक्ने नभएको पनि स्पष्ट पार्नुभयो । तर इयु–इजरायल संघ सम्झौता अन्तर्गत यसको प्राथमिकतापूर्ण व्यवहार निलम्वन गर्ने बराबर भएको बताउनु भयो ।

    २२. गाजामा मानवीय सहायताका इजिप्टको पहल

    इजिप्टले बुधवार इजिप्टियन रेड क्रिसेन्ट र यसका स्वयंसेवकहरूलाई गाजामा सहयोग दिँदै प्यालेस्टिनी जनताको लागि आफ्नो मानवीय र राजनीतिक समर्थनको पुनः पुष्टि गर्दै सम्मान गरेको छ । यो कार्यक्रम विदेश मामिला र सामाजिक ऐक्यवद्धता मन्त्रालयद्वारा आयोजना गरिएको थियो । यसमा विदेश मन्त्री बद्र अब्देलट्टी, सामाजिक ऐक्यबद्धता मन्त्री माया मोर्सी, इआरसी कार्यकारी निर्देशक अमल इमाम र विदेशी दुतावास र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू उपस्थित थिए । अब्देलट्टीले गाजाको अवस्थालाई मानवीय प्रकोप र नरसंहारको युद्ध सरह भनेर वर्णन गर्नुभयो । 

    २३. भारतमा बाढी र पहिरोमा १७ जनाको मृत्यु, १३ जना बेपत्ता

    भारी वर्षा र बादल विस्फोटका कारण आएको बाढी र पहिरोले उत्तरी भारतीय राज्य उत्तराखण्डमा विनाश निम्त्याएको छ । जसबाट १७ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तराखण्डको राजधानी देहरादुन सबैभन्दा बढी प्रभावित भएको छ । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्र र वरपर उद्धार कार्य जारी छ । 

    २४. लिबियाली अधिकारीद्वारा त्रिपोली युद्धविराम लागू गर्न पहल

    आधिकारिक लिबियाली समाचार एजेन्सीकाअनुसार लिबियाली प्रेसिडेन्सी काउन्सिलका अध्यक्ष मोहम्मद अल–मेन्फीले त्रिपोलीमा सैन्य र सुरक्षा नेताहरूसँग भेटेर हालैको युद्धविराम सम्झौता कार्यान्वयन गर्ने बारेमा छलफल गर्नुभएको छ । संयुक्त राष्ट्र संघले मान्यता प्राप्त राष्ट्रिय एकता सरकार र प्रतिद्वन्द्वी विशेष डिटेरेन्स फोर्स, जसलाई राडा पनि भनिन्छ । गत हप्ता शनिवार युद्धविराम भएको थियो । टर्कीको गुप्तचर संस्थाले मध्यस्थता र ग्यारेन्टी गरेको यो सम्झौता तुरुन्तै लागू भयो । 

    २५. घर जलाइएपछि काँग्रेस नेता शशांकको गुनासोः मैले के गल्ति गरेको थिएँ ?

    नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँ जेनजीको शान्तीपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गर्नुभएको हो । उहाँले वास्तविक जेन–जी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको उहाँको भनाइ छ ।

    २६. प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरियोः राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिको सरकारी निवास सितल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुक फेरी नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताउनु भयो ।

    २७. संविधान र राष्ट्रपति संस्थालाई खारेज गर्न खोजियो, मैले जोगाएँः अध्यक्ष दाहाल

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन आफूले सहजीकरणको भुमिका खेलेको दाबी गर्नुभएको छ । शुक्रवार संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संविधान खारेज गर्ने र राष्ट्रपति संस्थामाथि पनि प्रहार गर्ने प्रयास भएको जिकिर गर्नुभयो । रातभर राष्ट्रपति, प्रधानसेनापती र राजनीतिक दलका नेतहरुसँग छलफल संविधान र राष्ट्रपति संस्थालाई जोगाउँदै अन्तरिम सरकार गठनका लागि सहजिकरण गरेको उहाँको दाबी छ ।

    २८. संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकता जरुरीः सिटौला

    नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुवा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । उहाँले जेन–आन्दोलनपश्चात मुलुकमा संविधान विपरित गतिविधि भइरहेको भन्दै लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न दलहरूबीच आपसी सहकार्यको आवश्यक भएको बताउनु भयो ।

    २९. संविधान र संघीयता बचाउन राजीनामा दिइनँः मुख्यमन्त्री सिंह

    मधेस प्रदेश सरकारले संविधान र संघीयताको रक्षा अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएको छ । संविधान दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलगायत नेताहरूले संविधानको कार्यान्वयन र संरक्षण सबैको साझा दायित्व भएको धारणा राखे । जेन जी आन्दोलनपछि संविधान मिच्ने र संघीयता खारेज गर्ने चलखेल भएको भन्दै उनीहरुले यस्तो कार्य कदापी स्वीकार्य नहुने बताए । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शहीदहरूको बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई जोगाउन सबै पक्ष उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो । 

    ३०. जेनजी आन्दोलनका लुटपाट, तोडफोड र आगजनीको घटना छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न काँग्रेसको माग

    नेपाली काँग्रेसले जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटको घटना छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । शुक्रवार आगजनीले खण्डहर बनेको पार्टी पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रिय कार्य समिति समितिको बैठकले सो माग गरेको हो । खर्बौंको सार्वजनिक तथा निजी सम्पती क्षति गरिएको सो घटनाप्रति निन्दा र भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सो आयोग तत्काल गठन गर्न सरकारसँग माग गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनु भयो । 

    ३१. जेन—जी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माणमा जुट्न मन्त्री घिसिङको आह्वान

    ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्र निर्माणमा अभियान जुट्न सबैलाई आह्वान गर्नुभएको छ । जेन—जी आन्दोलनको क्रममा आगजनी, तोडफोड गरेर मुलुकका धेरै भौतिक संरचना ध्वस्त भएको उल्लेख गर्दै मन्त्री घिसिङले सबैलाई एकतावद्ध भएर पुनर्निर्माणको काममा केन्द्रित हुन आग्रह गर्नुभएको हो । शुक्रवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालयमा श्रमदान अभियानमा सहभागी हुनुभएका उहाँले पुनर्निर्माणको काममा देशविदेशमा रहेका सबै नेपालीहरुले सक्दो सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । 

    ३२. मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ

    ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषदले चाँडै पूर्णता पाउने बताउनुभएको छ । शुक्रवार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । मन्त्री घिसिङले मन्त्रीपरिषदलाई पूर्णता दिने काममा ढिलाई नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग गरेको पनि बताउनु भयो । 

    ३३. अब राजश्व तिर्न मास्टर कार्ड, भिजा कार्ड र अलिपे जस्ता कार्डहरू प्रयोग गर्न सकिने

    अब विदेशमा बस्ने नेपाली र नेपाल आउने पर्यटकलाई राजश्व तिर्न सजिलो हुने भएको छ । भुक्तानी कागजरहित, व्यक्तिरहित, र नगदरहित हुने र काममा पारदर्शिता ल्याउन भन्दै सरकारले अन्तर्राष्ट्रिय कार्डबाट पनि राजश्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजश्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली जोडेको छ ।

    ३४. उर्जा विकास मार्गचित्र कार्यान्वयन गराउन चुक्दै सरकार

    सरकारले उर्जा विकास मार्गचित्र सार्वजिनक गरेको वर्ष दिन पूरा हुन थालेको छ । मार्गचित्रमार्फत वर्ष २०३५ सम्म नेपालको विद्युत जडित क्षमता २८ हजार पाँच सय मेगावाट पु¥याउने लक्ष्य लिइएका र त्यसमा १५ हजार मेगावाट निर्यात गर्ने र साढे १३ हजार नेपालमै खपत गर्ने लक्ष्य लिएको छ । त्यसमा भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य तोकिएको भएपनि लक्ष्य पूरा गर्ने गरी सरकार अघि बढ्न नसकेको उर्जा उत्पादकहरुले बताएका छन् । 

    ३५. जिर्ण आयोजनाको ठेक्का तोड्न सूचि बन्दै

    सरकारले जिर्ण आयोजनाको ठेक्का तोड्ने भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जिर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको हो । त्यसका लागि जिर्ण आयोजनाहरुको सूचि तयार गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई तत्काल सूचि तयार गरी पेश गर्न निर्देशन दिनुभएको छ ।  

    ३६. शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि बन्यो कार्यदल 

    शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि सरकारले कार्यदल बनाएको छ । अर्थमन्त्री रामेश्वर खनालले शेयर बजारमा देखिएका समस्या अध्ययन तथा समाधानका लागि चार सदस्यीय कार्यदल गठन गर्नुभएको हो । शुक्रवार (आज) मन्त्रीस्तरीय निर्णयमार्फत गठित कार्यदलको संयोजक नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीलाई तोकिएको छ । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कार्यवाहक कार्यकारी निर्देशक निरञ्जन फुँयाल र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहनुभएको छ । निरौलालाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ । —न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १९:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij