२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार गराइरहेका ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनमाथि आन्दोलनकारीले नै आक्रमण गरेको खुलासा भएको छ। सामाजिक सञ्जालमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि आक्रमण भएको भन्दै भाइरल भएको भिडियोमा पौडेल नभई टण्डन रहेको पुष्टि भएको हो।
भदौ २३ गते गंगबुमा गोली लागेर घाइते भएका जेन जी लक्ष्मण कँडेललाई उपचारका लागि मनमोहन अस्पताल पुर्याएर फर्किंदै गर्दा उनीमाथि आक्रमण भएको उनको भनाइ छ। टण्डनका अनुसार भीडले उनलाई अर्थमन्त्री विष्णु पौडेल भन्दै कुटपिट गरेको र एम्बुलेन्ससमेत तोडफोड गरेको थियो। 'मैले घाइतेको निःशुल्क उपचार र उद्धार गरिरहेको थिएँ, तर अर्को अस्पताल पुर्याएर फर्किने क्रममा ममाथि आक्रमण भयो,' उनले भने।
घटनाको स्मरण गर्दै टण्डनले भने, 'नेताको अनुहारसमेत नचिन्ने आन्दोलनकारी थिए भनेर कसरी विश्वास गर्ने? कसैले नेता आयो भन्दै कुटे, तर पछि चिनेका जेनजी भाइबहिनी र अरु मानिसहरूले बचाए।' यो घटना नियोजित नभएको भए पनि यसले आफूलाई गम्भीर चोट पुर्याएको उनले बताए।
अहिलेसम्म १७ जना जेनजी घाइतेलाई ग्रिनसिटी अस्पतालमा निःशुल्क उपचार गराइसकेका टण्डन केही दिनको आरामपछि काममा फर्किसकेका छन्। घाइतेको सहयोगमा सक्रिय रहँदा आफैँमाथि भएको आक्रमणले उनलाई निराश बनाएको छ। यसले आन्दोलनका क्रममा निर्दोष व्यक्तिहरूमाथि हुन सक्ने हिंसाको जोखिमलाई समेत उजागर गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij