Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 2.1K
    Shares

    आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताउनुभएको हो । उहाँले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरुले भुमिका खेल्नुपर्ने बताउनु भयो । पुराना दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनः संरचना गर्नेमा आशंका रहेको बताउनु भयो । 

    २. तिनाउ नदीमा बाढी बढ्दै गएपछि शतर्क रहन आग्रह

    बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गरी असोज १ गते बिहान ७ः५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको हो । 

    ३. धातुजन्य उपकरण र औजारको पूजा गरी मनाइयो विश्वकर्मा पूजा

    आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ । विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिन्छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । 

    ४. मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्री निवासको निरीक्षण

    अन्तरिम सरकारका तीन मन्त्रीहरुले भैँसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गर्नुभएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र क्षतिको मूल्याङ्कन गर्न ऊर्जा जलस्रोल तथा सिंचाईमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृह मन्त्री ओमप्रकाश अर्याल बुधबार क्वाटर परिसरमा पुगेर वस्तुस्थितिको अवलोकन गर्नुभएको हो । करिव एक अर्बको लागतमा बनेको निवासहरु भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनले क्षतिग्रस्त भएको थियो ।

    ५. अगस्टमा भारतको निर्यात बढ्यो, आयात घट्यो

    अगस्टमा भारतको कुल निर्यात बढेको छ । जसमा व्यापारिक सामान र सेवाहरू समावेश छन् । ६९.१६ अर्ब अमेरिकी डलर अनुमान गरिएकोमा गत वर्षको सोही महिनाको तुलनामा ९.३४ प्रतिशतले वृद्धि भएको हो । तथ्याङ्कले यो पनि खुलासा गरेको छ कि अगस्टमा व्यापारिक सामान र सेवाहरू सहित कुल आयात ७९.०४ अर्ब डलर अनुमान गरिएको थियो । जुन गत वर्षको सोही महिनाको तुलनामा ७ प्रतिशत कम हो । 

    ६. इजरायली सेनाद्वारा गाजा शहरमा हवाई आक्रमण तिब्र

    इजरायली सेनाले मंगलबवार बिहान गाजा शहरमा आफ्नो हवाई आक्रमण तिब्र पारेको छ । केही बासिन्दा र पर्यवेक्षकहरूले गाजा जनसंख्यामा बढ्दो मानवीय संकटको बीचमा शहर भित्र स्थल कारबाही विस्तार गर्ने सम्भावित प्रश्तावनाको रूपमा वर्णन गरेका छन् । प्यालेस्टिनी स्रोतहरूले बताएअनुसार युद्धविमान र ड्रोनहरूले तोपखाना र हेलिकप्टर प्रयोग गरी आक्रमण गरेका छन् । 

    ७. टर्कीद्वारा राष्ट्रव्यापी कारबाहीमा १.१ टनभन्दा बढी लागुऔषध, २.७ मिलियन चक्की बरामद

    टर्की प्रहरीले विगत दुई हप्तामा ७४ प्रान्तहरूमा गरिएको कारबाहीमा १.१८३ टन लागुऔषध र २.७९ मिलियन लागुऔषध चक्की बरामद गरेको देशका गृहमन्त्री अली येर्लिकायाले मंगलवार बताउनुभएको छ । छापा मार्ने क्रममा कुल १ हजार ८ सय ११ संदिग्धहरूलाई हिरासतमा लिइएको मन्त्रीले बताउनु भयो । येर्लिकायाले इस्तानबुल, अंकारा र इज्मिर लगायत प्रमुख शहरहरूमा २ हजार ७ सय ५ टोली, ६ हजार ७ सय ६० कर्मचारी र २१ विमान संलग्न रहेको बताउनु भयो । 

    ८. ट्रम्पद्वारा मेम्फिसमा राष्ट्रिय गार्ड तैनाथ गर्ने पत्रमा हस्ताक्षर

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेनेसी राज्यको डेमोक्र्याटिक नेतृत्वको शहर मेम्फिसमा राष्ट्रिय गार्ड तैनाथ गर्ने ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ । ह्वाइट हाउस ओभल अफिसमा हस्ताक्षर गरिएको ज्ञापनपत्रअनुसार टेनेसीको मेम्फिस शहर हिंसात्मक अपराधको अत्यधिक स्तरबाट पीडित छ । जसले यसको स्थानीय सरकारको प्रभावकारी रूपमा प्रतिक्रिया दिने क्षमतालाई ओझेलमा पारेको छ । मेम्फिस हालैका महिनाहरूमा लस एन्जलस र वाशिंगटन, डीसी पछि यसको सडकमा राष्ट्रिय गार्ड सेना तैनाथ गरिएको देख्ने तेस्रो अमेरिकी शहर हो ।

    ९.डच राजाको प्राथमिकतामा बसाइँसराई र अर्थतन्त्र

    डच राजा विलेम–अलेक्ज्याण्डरले मंगलवार संसदीय वर्षको शुरुवात गर्दै जारी राजनीतिक उथलपुथलको बीचमा सम्झौता र स्थिरताको लागि आह्वान गर्दै बसाइँसराई र अर्थतन्त्रलाई सिंहासनबाट आफ्नो वार्षिक भाषणको केन्द्रमा राख्नुभएको छ । सेप्टेम्बरको तेस्रो मंगलवार हुने राजकुमार दिवसमा सम्बोधन गर्दै विलेम–अलेक्ज्याण्डरले आप्रवासनलाई नियन्त्रणमा राख्नु देशको सबैभन्दा ठूलो चिन्ता मध्ये एक भएको बताउनु भयो । र यो सधैं जस्तै जरुरी रहेको बताउनु भयो । 

    १०. लेबनानको दक्षिणी शहरमा इजरायली हवाई आक्रमणः १ जनाको मृत्यु, १४ जना घाइते

    लेबनानको दक्षिणी शहर नबातीहको केसर जातार क्षेत्रको एक भवनमा इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ । चार बालबालिका र सात महिलासहित १४ जना घाइते भएका छन् । नागरिक सुरक्षा सवारी साधन र एम्बुलेन्सहरू भग्नावशेषबाट घाइतेहरूलाई हटाउन र उपचारको लागि नजिकैका अस्पतालहरूमा पु¥याउन क्षेत्रमा पुगेका छन् । इजरायली सेनाका प्रवक्ता अविकाय अद्राईले दक्षिणी लेबनानको नबातीह क्षेत्रमा रहेको हिजबुल्लाह कमाण्ड मुख्यालयमा युद्धविमानले प्रहार गरेको दाबी गर्नुभयो ।

    ११. वेस्ट बैंकमा इजरायली सेनाद्वार २ जनाको हत्या

    प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मंगलवार बिहान उत्तरी वेस्ट बैंक शहर कल्किलियामा छापामारीको क्रममा इजरायली गोलीबारीबाट दुई प्यालेस्टिनीको मृत्यु भएको बताएको छ । मन्त्रालयले भनेको छ कि नागरिक मामिलाको सामान्य प्राधिकरणले मृतकहरूको पहिचान ४१ वर्षीय वसीम खलील मौसा अबु अली र ३४ वर्षीय खालेद नेमेर स्वेलेम हसनको रूपमा गरेको जानकारी दिएको छ । कल्किलियाका गभर्नर होसम अबु हमदाले पत्रकारहरूलाई इजरायली विशेष एकाइले पाँच प्यालेस्टिनीहरू बोकेको गाडीमा गोली चलाएको थियो । 

    १२. सिरियाद्वारा स्वेडा संकटलाई सम्बोधन गर्न रोडम्याप घोषणा

    सिरियाली अधिकारीहरूले मंगलवार दक्षिणी प्रान्त स्वेडामा महिनौंदेखि जारी संकटलाई सम्बोधन गर्न सात–बुँदे रोडम्याप अनावरण गरेका छन् । विदेश मामिला प्रमुख असद हसन अल–शिबानीले जोर्डनका विदेशमन्त्री आयमान सफादी र सिरियाका लागि अमेरिकी विशेष दूत थोमस ब्यारेकसँग दमास्कसमा संयुक्त पत्रकार सम्मेलनमा योजनाको घोषणा गर्नुभएको हो । 

    १३. असोजका लागि वाणिज्य बैंकहरुले गरे नयाँ व्याजदर निर्धारण

    वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ व्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको विवरणअनुसार भदौको तुलनामा असोजमा औषध व्याजदर घटेको छ । भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले असोजमा औसतमा ५.४६ प्रतिशत बिन्दुकार दरले ब्याजदर दिने भएका छन् । बैंकहरुले चालु आर्थिक वर्षको शुरुदेखि नै व्याजदर घटाउने क्रममा निन्तरता दिएका हुन् ।

    १४. जनकपुरधाममा दशैँ मेलाका लागि तयारी तिब्र

    जनकपुरधामका दशैँ मेलाका लागि तयारी तिब्र पारिएको छ । नेपालीहरुको महान पर्व विजया दशमी शुरु हुन केही दिन मात्रै बाँकी रहेकोले दशैँ मेलाको लागि तयारी तिब्र पारिएको हो । दशैँलाई भव्य बनाउन यहाँका स्थानीय युवा क्लवहरु अहोरात्र खटिरहेका छन् । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहितका स्थानमा दशैँमा शक्तिस्वरुपा माता दुर्गाको पूजा अराधनाका गर्ने गरिएको छ ।

    १५. जेन—जी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

    जेन—जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । बुधवार सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो । सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरिएको हो । सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजानिक विदा समेत दिएको छ ।

    १६. जेन–जी आन्दोलनमा मृत्यु भएकाको शोकमा पत्रकार महासंघ उपत्यका समितिद्वारा दीप प्रज्वलन

    जेन–जी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा नेपाल पत्रकार महासंघ उपत्यका समितिले काठमाडौंमा दीप प्रज्वलन गरेको छ । बुधवार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा महासंघको उपत्यका समितिका पदाधिकारीको उपस्थितिमा श्रदाञ्जली सभासहित दीप प्रज्वलन गरेको हो । गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेन–जीको आन्दोलनको क्रममा देशभर ७४ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए । 

    १७. जेन–जी आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन

    जेन–जी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा बधवार अपरान्ह दीप प्रज्वलन गरिएको छ । बुधवार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर मृतकका परिवार तथा जेन–जीहरुले देशभरका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । मृतकप्रति श्रदाञ्जली दिँदै परिवाजनप्रति गहिरो समवेदना समेत व्यक्त गरे । उनीहरुले देशमा आफूहरुको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरे ।

    १८. जेन–जी प्रदर्शनका घाइतेका लागि रक्तदान कार्यक्रम

    जेन–जी पुस्ताको आन्दोलनमा घाइते भएका बिरामीहरुका लागि भनेर फास्ट फुड एशोसिएशन नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ । २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका घाइतेहरुलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष होमराज श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार बुधवार बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान गर्न सकिनेछ । 

    १९. तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छः सचिव भट्टराई

    नेकपा (एमाले) का सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरुले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको उहाँको भनाइ छ । उहाँले जेन–जी पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको पनि बताउनु भयो । 

    २०. लोसपाले संविधान दिवसमा जेन जी आन्दोलनका मृतकप्रति शोक व्यक्त गर्ने

    महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले संविधान दिवसका दिन जेन जी आन्दोलनमा मृत्यु भएकाहरुप्रति शोक व्यक्त गर्ने भएको छ । बुधवार काठमाडौंमा बसेको पार्टी पदाधिकारीले बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता आभास लाभले जानकारी दिनुभयो । साथै बैठकले जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई श्रदाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । 

    २१. उद्योग व्यवसायमा गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः चन्द्रप्रसाद ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघले जेन—जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । बुधवार अपरान्ह सञ्चारकर्मीमाझ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो माग गर्नुभएको हो । उहाँले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भिर क्षति पु¥याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । 

    २२. जेन—जी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छः मन्त्री घिसिङ

    ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताउनुभएको छ । बुधवार अपरान्ह सो आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । काठमाडौंमा मात्रै नभएर सो आन्दोलनको क्रममा देशभर ठूलो क्षति भएको मन्त्री घिसिङको भनाई थियो । उहाँले क्षतिग्रस्त भवनहरुको पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियाननै संचालन गर्ने कार्ययोजना रहेको पनि बताउनु भयो ।

    २३. मन्त्रीत्रय खनाल, घिसिङ र अर्यालद्धारा क्षतिग्रस्त संघीय संसद भवन अवलोकन

    सरकारका मन्त्रीहरुले जेन—जी प्रर्दशनकारीहरुले आगजनिसहित क्षति पु¥याएका संघीय संसद भवनको अवलोकन गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङ, गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले बुधवार अपरान्ह नयाँ बानेश्वरस्थित खण्डहर अवस्थामा रहेको सो भवनको अवलोकन गर्नुभएको हो । 

    २४. संविधान दिवस देशभर मनाइन्छः काँग्रेस उपसभापति खड्का

    नेपाली काँग्रेसले देशभर संविधान दिवस मनाउने जनाएको छ । पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिनुभएको हो । उहाँले  बुधवार सानेपास्थित पार्टी जेनजी प्रर्दशनकारीहरुको आगजनी, तोडफोडबाट खण्डहर बनेको पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै संविधान दिवस मनाउनका लागि आफूहरुले पार्टीको क्षेत्रीय कार्य समिति, जिल्ला सभापतिहरु, भ्रातृ संस्था, सभेच्छु संस्थाहरुलाई पनि संयमतापूर्वक संविधानलाई हातमा राखेर सबै जिल्लामा मनाउन निर्देशन दिइसकिएको बताउनु भयो । 

    २५. पर्यटन क्षेत्र पूर्ववत अवस्थामा, पर्यटकलाई घुमफिरका लागि दशैँ–तिहारको समय ‘उत्तम’ 

    जेन–जी आन्दोलनका कारण केही दिन असहज स्थिति पैदा भएपनि हाल होटेल, रेस्टुरेण्टदेखि एयरलाइन्स, ट्रेकिङ र ट्राभल व्यवसायसम्म सबै गतिविधि पूर्ववत अवस्थामा फर्किएका छन् । पहिलेकै अवस्थामा फर्किएसँगै दशैँ,तिहारको बेला पर्यटन क्षेत्र चयायमान हुने देखिएको छ । नेपाल होटेल संघ (हान) का अध्यक्ष विनायक शाहले पनि मुलुकको पर्यटन क्षेत्र फेरि सामान्य अवस्थामा फर्किसकेको र अब फेरि यो क्षेत्र माथि उठ्ने बताउनुभएको छ ।

    २६. जेन जी आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीलाई राहत, कर विवरण र राजश्व बुझाउने समय थप

    जेन जी आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीलाई राहत दिन सरकार कर विवरण तथा राजस्व तिर्ने समयावधी बढाएको छ । अर्थमन्त्री रामेश्वर खनालले कर विवरण र दाखिला गर्ने समयावधी थप गर्ने निर्णय लिनुभएको छ । अर्थमन्त्रालयका अनुसार गत भाद्र २३ र २४ गते भएको देशव्यापी आन्दोलनका कारण देशमा कफ्र्यू तथा निषेधाज्ञा लागू भएकोले उक्त अवधिमा कार्यालयहरु समेत बन्द भएको र करदाताले पेश गर्नुपर्ने विवरण तथा कर रकम दाखिला गर्न नपाएकाले अवसध थपिएको हो । अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयकाअनुसार २०८२ भाद्र २५ सम्ममा पेश गर्नुपर्ने २०८२ श्रावणको मासिक मू.अ.कर, अन्तःशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम २०८२ असोज २५ गतेसम्म दाखिला गर्न सकिने गरी अर्थमन्त्रीस्तरबाट निर्णय भएको छ । —न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १९:००:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij