Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 1.1K
    Shares

    आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

    नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आईतवार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ । उहाँ शनिवारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आउनु भएको छ । जेन–जी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा पदबाट राजीनामा दिनुभएको थियो । 

    २. जेन—जी आन्दोलन असरः ‘नेपाल असुरक्षित रहेछ, अब कहिल्यै आउँदैनौँ’

    जेन—जीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्नसक्ने स्पष्ट छ । यो आन्दोलन र घटना क्रमले समग्र अर्थतन्त्रमा नै दीर्घकालसम्म ठूलो असर पर्नेछ । यसबीच केही समय देश नै ठप्प रह्यो । पूर्वप्रधानन्यायधीश शुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ । यो चुनावी सरकारको हो, त्यसैले अबको ६ महिनासम्म यसबाट धेरै आशा गर्ने अवस्था छैन । 

    ३. उपत्यकामा चल्न थाले सार्वजनिक यातायात

    निषेधाज्ञा र कफ्र्यु हटेसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ । काठमाडौं उपत्यकामा अहिले सार्वजनिक सवारी साधनहरु सञ्चालन हुन थालेका छन् । केही सार्वजनिक यातायातहरु शनिवारबाटै सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालन हुन सकेका थिएनन् । चक्रपथ क्षेत्रमा मात्रै सार्वजनिक यातायातहरु सञ्चालन भएकोमा आईतवारबाट भने चक्रपथसहित भित्रि सडक र उपत्यका बाहिर पनि सार्वजनिक यातायात सञ्चालन हुन थालेका छन् । 

    ४. आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरु पक्राउ

    जेनजी आन्दोलनको क्रममा जनकपुरधामको विभिन्न स्थानमा आगजनी, तोडफोडका साथै लुटपाटमा संलग्न रहेकाहरुलाई धनुषा प्रहरीले पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाउने भएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते धनुषाको विभिन्न स्थानमा तोडफोड तथा आगजनीमा संलग्नहरुलाई पक्राउ गर्न शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले आन्दोलनको नाममा फरकफरक स्थानमा सरकारी सम्पति लुटपाटका साथै तोडफोड र आगजनीमा संलग्न रहेकाहरुमध्ये ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभयो । 

    ५. अब नयाँ सोच र परिस्थितिमा अझ बढी आत्मबलका साथ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्छः सचिव देवकोटा

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषद्बाट सेवा सुचारु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा ध्वस्त भएको र अब सेवा स्वास्थ्य अनुसन्धान परिषद्बाट दिनेगरी तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताउनु भयो । उहाँले आईतवारबाट नियमित काम मन्त्रालयले शुरु गरेको बताउँदै शुन्यबाट काम शुरु गर्नुपर्ने स्थिति रहेको बताउनु भयो । सिंहदरबारभित्रको परिसरमा गएर त्यहाँबाट सबैसँग समन्वय गरेर काम प्रभावकारी रुपमा गर्ने सोच मन्त्रालयको रहेको पनि बताउनु भयो । 

    ६. अन्तरिम सरकारस्ँग जनताको मागः कालोधन र भ्रष्टाचार छानविन गरी राष्ट्रियकरण होस् 

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीसँग सर्वसाधारणले निर्वाचनसँगै भ्रष्टाचार अन्त्य र सुशासनको अपेक्षा गर्नुभएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण बनेको कार्की नेतृत्वको सरकारसँग सार्वसाधरणले नागरिकले सुशासनको अपेक्षा गर्नुभएको हो । उहाँहरुले २०४६ सालपछि भएका सम्पूर्ण भ्रष्टाचारको छानविन गर्नको लागि न्यायिक आगोग गठन गर्नुपर्ने माग राख्नुभएको छ ।

    ७. अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो महोत्सव शुरु

    अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो उत्सव फ्लोरिएड शनिवार राष्ट्रिय राजधानी क्यानबेरामा शुरु भएको छ । ३८ औं वार्षिक संस्करणको रुपमा शनिवारबाट शुरु भएको हो । महिनाभरि चल्ने यो महोत्सव आधिकारिक रूपमा मध्य क्यानबेराको कमनवेल्थ पार्कमा शुरु भयो । अक्टोबर १२ मा समाप्त हुनुअघि अष्ट्रेलियाली राजधानी क्षेत्रको स्थानीय अर्थतन्त्रमा ६ करोड अष्ट्रेलियाली डलर (३ करोड ९८ लाख अमेरिकी डलर) भन्दा बढी योगदान गर्ने अपेक्षा गरिएको छ । 

    ८. इजरायली सेनाद्वारा उत्तरी पश्चिम शहरमा आक्रमण तिब्र

    इजरायली सेनाले उत्तरी पश्चिम किनार शहर टुल्करममा लगातार दोस्रो दिन पनि ठूलो मात्रामा सैन्य कारबाही अगाडि बढाएको छ । बासिन्दाहरूमाथि कडा प्रतिवन्ध लगाएको छ । गिरफ्तारी र खोजी गरिरहेको छ । स्थानीय बासिन्दाहरूकाअनुसार सेनाले बिहीवार शहरको दैनिक जीवनका लगभग सबै पक्षहरूलाई पक्षाघात गरेपछि बिहान कफ्र्यू हटाएको छ । यद्यपि पसलहरू र औषधि पसलहरू बन्द रहे । 

    ९.इजिप्ट, साउदी, युएई, अमेरिकाद्वारा सुडानमा ३ महिनाको युद्धविराम गर्न आह्वान

    इजिप्ट, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरूले शनिवार सुडानमा तीन महिनाको मानवीय युद्धविरामको लागि आह्वान गरेका छन् । त्यसपछि स्थायी युद्धविरामको घोषणा गरिएको छ । संयुक्त विज्ञप्तिमा भनिएको छः यो विरामले सुडानमा सहायताको द्रुत वितरणलाई अनुमति दिनेछ र स्थायी युद्धविराम र नागरिक नेतृत्वको सरकारमा नौ महिनाको संक्रमणको लागि मार्ग प्रशस्त गर्नेछ । मन्त्रीहरूले चेतावनी दिए कि सुडानी सशस्त्र बल र ¥यापिड सपोर्ट फोर्स बीचको युद्धले विश्वको सबैभन्दा खराब मानवीय संकट सिर्जना गरेको छ र क्षेत्रीय स्थिरतामा गम्भीर जोखिम निम्त्याएको छ ।

    १०. इजिप्टद्वारा मध्यपूर्व आणविक हतियारमुक्त क्षेत्रको लागि आह्वान

    इजिप्टले शनिवार मध्यपूर्वमा आणविक हतियारमुक्त क्षेत्रको लागि आह्वान दोहो¥याएको इजिप्टको विदेश मन्त्रालयले बताएको छ । अर्को हप्ता भियनामा हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको महासम्मेलनको ६९ औं नियमित सत्रअघि इजिप्टले यस क्षेत्रका सबै देशहरूलाई अपवाद बिना आणविक हतियार अप्रसार सन्धिमा सामेल हुन आग्रह गरेको हो । सन्धिको पालनाले पारदर्शितालाई बढावा दिने र आणविक कार्यक्रमहरू ह्यान्डल गर्ने दोहोरो मापदण्डलाई रोक्ने विश्वास लिइको छ । साथै क्षेत्रीय तनावलाई कम गर्न मद्दत गर्ने पनि विश्वास लिइएको छ ।

    ११. भारतको खुद्रा मुद्रास्फीति अगस्टमा २.०७ प्रतिशतले बढ्यो

    भारतको खुद्रा मुद्रास्फीति अगस्टमा २.०७ प्रतिशतले बढेको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार अगस्टमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.०७ प्रतिशत छ । जुन जुलाईमा १.६१ प्रतिशत थियो । मन्त्रालयकाअनुसार मुद्रास्फीति भारतीय रिजर्भ बैंकको लक्ष्य मुद्रास्फीति दर भित्र धेरै छ । 

    १२. म्याड्रिडमा विस्फोटः २० भन्दा बढी घाइते

    स्पेनको राजधानी म्याड्रिडमा शनिवार दिउँसो भएको विस्फोटमा परी आंशिक भवन भत्किँदा कम्तिमा २१ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय टेलिभिजन नेटवर्क टेलिम्याड्रिडकाअनुसार दक्षिणी म्याड्रिडको एक बारमा दिउँसो करिव ३ बजे विस्फोट भएको थियो । आपतकालीन सेवाहरूले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताएका छन् । 

    १३. म्यानमारको श्वेडागन हेर्न ८ महिनामा ४६ लाख बढी पर्यटक पुगे

    म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडाले ८ महिनामा ४६ लाख ५० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको छ । म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो आठ महिनामा ४६ लाख ५० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीजका सदस्य यू बोए थिनले शनिवार बताउनु भयो । तीमध्ये ५० हजार भन्दा बढी विदेशी आगन्तुकहरू थिए । जसमध्ये सबैभन्दा बढी चीन, थाइल्याण्ड र भियतनामबाट आएका थिए । 

    १४. प्रधानमन्त्री कार्कीको प्रश्नः सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताउनुभएको छ । सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताउनु भयो । यहाँले यो देखेर आफूलाई लाज लागेको पनि बताउनु भयो ।

    १५. जेन–जी आन्दोलनः सरकारी संरचनामाथि तोडफोड र आगजनी सम्बन्धमा छानविन गर्न शक्तिशाली आयोग गठन गर्न कानून व्यवसायीको माग 

    जेन–जी पुस्ताको आन्दोलनको क्रममा सरकारी संरचनामाथि भएको तोडफोड र आगजनीको सम्बन्धमा छानविन गर्न शक्तिशाली आयोग गठन गर्न कानून व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । रोल... 
    २३ र २४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनको क्रममा मुलुकको मुख्य प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद भवनलगायत सरकारी तथा निजी संरचना जलेर ध्वस्त भएका थिए । सरकारी संरचनामा भएको तोडफोड तथा आगजनी विषयमा छानविन गरी दोषिलाई आवश्यक कारबाही गर्न उनीहरुले अन्तरिम सरकारको ध्यानाकर्षण गराए । 

    १६. जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

    भदौ २३ र २४ गते जेन–जीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा नेपाल बार एशोसिएशनले दीप प्रज्वलन गरेको छ । एशोसिएशनले आईतवार कार्यालय परिसरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेको हो । शोकसभामा वरिष्ठ उपाध्यक्ष हरिशंकर निरौलाले प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । एक मिनेट मौनधारण पनि गरिएको थियो । 

    १७. जेन–जी आन्दोलनमा मृत्यु भएकालाई सरकारले गर्यो शहीद घोषणा

    जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । २३ र २४ भदौमा भएको जेन–जी युवाको आन्दोलनका क्रममा ५१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ ।

    १८. जेन जी आन्दोलनको हत्यामा संलग्नमाथि कारबाही नभए पुनः सरकार ढालिन्छः सुदन गुरुङ

    जेन जी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरुको माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले शहीद परिवारको माग भोली (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी समेत दिनुभयो । पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरवार पुगेर पदभार ग्रहण गरेको केहीबेरमा नै उहाँले सो प्रतिक्रिया दिनुभयो । 

    १९. युवा पुस्ताको सोच बमोजिम काम गर्नेछुः प्रधानमन्त्री कार्की

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताउनुभएको छ । जेन—जी आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उहाँले उनीहरुको सोचअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरु नै जेन—जी आन्दोलनको मुख्य माग रहेकाले त्यो पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो ।

    २०. ‘आगजनीबाट क्षति भएको निजी क्षेत्रलाई सफ्ट लोन दिएर भएपनि सहयोग गर्छौं’

    प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताउनुभएको छ । आज पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताउनु भयो । उहाँले क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गर्नुभयो । उहाँले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताउनु भयो ।

    २१. १ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड  लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो । 
    राष्ट्र बैंक वित्त व्यवस्थापन विभागकाअनुसार राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब ४ करोड राख्नेछ । त्यस्तै ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १९ करोड ५० लाख राख्दैछ भने ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६५ करोड राख्दैछ । 

    २२. आक्रमणपछि उठ्दै निजी क्षेत्र, सघाउँदै सरकार

    गत भदौं २४ गते जेन जी आन्दोलनका कारण भएको आगजनीबाट निजी क्षेत्रको लगानी रहेको चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा अर्गनाइजेसन, भटभटेनी, एनसेल लगायतमाथि ठूलो क्षति पुग्यो । यतिबेला ठूलो नोक्शानी व्यहोरेको निजी क्षेत्र उठ्न कोशिस गर्दैछन् । अर्बपति विनोद चौधरीको रवि भवनको निजी निवासमा लुटपाट हुनुका साथै चौधरी समूहअन्तर्गत सतुन्गलको सिजीको फ्याक्ट्रीदेखि थापाथलीस्थित सीजी मोटर्सको सोरुम तथा गाडी अनि अन्य व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भयो । —न्युज एजेन्सी नेपाल 

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - २१:५२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij