२०८२ भाद्र २७ गते शुक्रवार
रास्वपाका सभापति रवि लामिछानेले नख्खु कारागारबाट बाहिर निस्किन नक्कली कागज तयार पारेको दाबीसहितको विषयले चर्चा पाइरहेको छ । कारागारबाट बाहिर निस्किन पनि किर्ते गरेको भन्दै आलोचकहरूले लामिछानेको खेदो खनिरहेका छन् ।
सहकारी ठगी मुद्दाको पुर्पक्षका लागि लामिछाने थुनामा थिए । उनलाई जेलबाट निकाल्ने भन्दै जेन–जी आन्दोलनमा सहभागी भएका युवाहरूले नख्खु कारागार घेरेका थिए । त्यसपछि लामिछानेसहित सबै कैदीबन्दी निस्केपछि नख्खु कारागार रित्तो भएको थियो ।
योसँगै देशभरका जेलहरू तोडेर हजाराैँ कैदीबन्दीहरू भागेका छन् । रविकै कारण देशभरका जेल ब्रेक भएको भन्दै रास्वपाभित्रैबाट पनि रविको आलोचना भइरहेको छ ।
तर नख्खु जेलबाट निस्केका रविले श्रीमती निकिता पाैडेलको फेसकुक अकाउन्टबाट लाइभ आउँदै आफूलाई सुरक्षा दिन नसक्ने भन्दै जेल प्रशासनले नै कागज थमाएर जबर्जस्ती बाहिर निकालेको दाबी गरेका थिए । उनले जेल प्रशासनले दिएको भन्दै पत्रसमेत सार्वजनिक गरेका थिए ।
तर शुक्रबार एक टेलिभिजन अन्तर्वार्तामा कारागार प्रमुख सत्यराज जोशीले उक्त पत्रको आधिकारिकताबारे अनभिज्ञता प्रकट गरेका छन् । उनले पत्रमा धेरै विषय नमिलेको आफूले देखेको बताउँदै यसबारे थप बोल्न नचाहेको बताएका छन् । कारागार प्रमुखले नै यस्तो टिप्पणी गरेपछि रविलाई नक्कली पत्र तयार पारी जेलबाट निकालिएको भन्दै सामाजिक सञ्जाल तातेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij