Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

जेन जी कै सहमतिबाट अन्तरिम सरकार बनाउन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सुझाव

जेन जी कै सहमतिबाट अन्तरिम सरकार बनाउन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सुझाव


  • 547
    Shares

    जेन जी कै सहमतिबाट अन्तरिम सरकार बनाउन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सुझाव
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जी पुस्ताले थालेको आन्दोलनलाई नेपालको मात्र नभई विश्वकै इतिहासमा अविस्मरणीय मोडका रूपमा दर्ज हुने बताएका छन् ।

    बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलनका मागलाई समर्थन गर्दै सुशासन, भ्रष्टाचारको अन्त्य, राजनीतिक शुद्धीकरण र सामाजिक न्यायसहितको समृद्धिका पक्षमा आफू निरन्तर संघर्षरत रहेको स्मरण गराए । उनले भने, ‘तपाईँहरूको साहसिक पहलले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, तर वास्तविक सफलता वार्ता र आगामी घटनाक्रमको दिशाले निर्धारण गर्नेछ।’

    तर, उनले आन्दोलनमा अवाञ्छित तत्त्वको घुसपैठ र नियन्त्रण गुमाउँदा सिंहदरबारदेखि राष्ट्र बैंकसम्म तोडफोड, आगजनी र लुटपाटजस्ता घटनाले मुलुकलाई गम्भीर क्षति पुर्‍याएकोमा दुख व्यक्त गरे । नेता श्रेष्ठले यसलाई योजनाबद्ध रूपमा विभिन्न शक्तिहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेको सम्भावना पनि औँल्याए ।

    श्रेष्ठले आन्दोलनकारीलाई पाँच प्रमुख एजेन्डा स्पष्ट पार्दै अघि बढ्न अपिल गरेका छन् । जसमा राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्न, जनताको सार्वभौमसत्ता सुरक्षित रहने उन्नत लोकतन्त्रको अभ्यास गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको राजनीतिक स्थिरता कायम गर्न, सुशासन, भ्रष्टाचार र नातावाद–कृपावादको अन्त्य गर्न तथा शिक्षा, स्वास्थ्य, रोजगारी सुनिश्चित गर्दै सामाजिक न्यायसहितको समृद्धिको बाटोमा अघि बढ्न उनको सुझाव छ ।

    पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वैदेशिक हस्तक्षेपको खतरा बढेको भन्दै सचेत रहन आग्रह गरे। ‘जेन जी आन्दोलनले इतिहासमा अग्रगामी फड्को मार्न सक्छ, तर त्यसका लागि राष्ट्रिय हित, लोकतन्त्र र सुशासनलाई शृङ्खलाबद्ध कार्यसूची बनाउनै पर्छ ।’ श्रेष्ठले भने । उनले आगामी अन्तरिम सरकार जेन जी को प्रस्ताव र सहमतिमा बन्नुपर्ने शुभेच्छा समेत व्यक्त गरे ।

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - ०८:४७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij