२०८२ भाद्र २० गते शुक्रवार
सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका–८ का वडाध्यक्ष मनीराज बराल सम्पर्कविहीन भएका छन् । नगरप्रमुख धर्मराज शाहीले शुक्रबार विज्ञप्ति जारी गर्दै वडाध्यक्ष बराल सम्पर्कविहीन भएपछि बिहीबार बिहानदेखि हालसम्म खोजी गर्दा पनि नभेटिएको जनाएको छ ।
“वडा कार्यालयको काम सकेर ससुराली गाउँ रास्कोट–५, लामासिम जाने क्रममा नपुगेको र घर पनि नफर्किएको हुँदा हालसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन,” नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नगरप्रमुख शाहीका अनुसार नेपाल प्रहरी, नगर प्रहरी, आफन्त तथा स्थानीय युवाहरूले विभिन्न ठाउँमा खोजतलास गरे पनि बराल भेटिएका छैनन् । उनी विगत केही महिनादेखि मानसिक स्वास्थ्य समस्याको बिरामी थिए ।
“वडा अध्यक्ष बराललाई जुनसुकै अवस्थामा देखेमा तत्काल सम्बन्धित निकाय वा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गर्दछौँ,” नगरप्रमुख शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij