Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एम्बुलेन्स चालकले कोराना सङ्क्रमितलाई बोक्न नमानेपछि पर्यो यस्तो समस्यामा

एम्बुलेन्स चालकले कोराना सङ्क्रमितलाई बोक्न नमानेपछि पर्यो यस्तो समस्यामा


  • 6.4K
    Shares

    एम्बुलेन्स चालकले कोराना सङ्क्रमितलाई बोक्न नमानेपछि पर्यो यस्तो समस्यामा

    डोटी । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् । चालकले सङ्क्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ ।

    कोराना सङ्क्रमित बिरामीलाई बोक्नका लागि डोटी जिल्लाका एम्बुलेन्स चालक अनिच्छुक देखिएको आरोप लागेको छ । कोरोना सङ्क्रमित बिरामीका आफन्तहरुले फोन गर्दा चालकले आफूहरुसँग कोरोनाबाट जोगिने कुनै पनि सुरक्षा सामग्री नभएका कारण बोक्न नसक्ने भन्दै आलटाल गर्ने गरेको स्थानीयवासी हर्कबहादुर धामीले बताए ।

    उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमित बिरामी लैजान एम्बुलेन्स चालकलाई फोन गर्दा कुन बिराम भएको हो भन्छन्, कोरोना भनेपछि बोक्नै मान्दैनन् ।” एम्बुलेन्स चालकहरुले नै कोरोना सङ्क्रमित बोक्न नमान्ने गर्न थालेपछि यहाँका गाउँघरमा बिरामी भएकाहरुलाई जिल्ला सदरमुकामका अस्पताल तथा जिल्लाबाहिर लैजान निकै समस्या हुन थालेको स्थानीयवासीको गुनासो छ ।

    कोभिड नियन्त्रणसम्बन्धी न्यूनतम सुरक्षा तथा सावधानी नभएको अवस्थामा एम्बुलेन्समा बिरामी बोक्न समस्या रहेकाले बोक्न केही असहज भएको एम्बुलेन्स चालकहरुको भनाइ छ । कोरोना सङ्क्रमित बिरामीलाई बोक्नलाई कुनै पनि सामग्री नभएका कारण समस्या हुँदै आएको र बिना सुरक्षा बिरामी बोक्न नसकिने केआइसिंह गाउँपालिकाका एम्बुलेन्स चालक खगेन्द्र बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा सामग्री छैन, हामी हाम्रो ज्यान खतरामा राखेर बिरामी ओसार्न सक्ने पक्षमा छैनौँ । सुरक्षा र सावधानीबिना काम गर्न कसरी सकिन्छ ?”

    अधिकांश एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको कारण देखाउँदै बिरामी बोक्न अस्वीकार गरेका छन् । उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दैन भन्न नमिल्ने र त्यसो गरेको प्रमाणित भए कारवाही हुने बताए । उहाँले भन्नुभयो, “एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दिन भन्न कुनै हालतमा पनि पाउँदैनन, आफ्नो सुरक्षा सावधानी अपनाएर समस्या परेका बखत बिरामी बोक्नै पर्छ ।”

    जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गए पनि उनीहरुलाई अस्पतालसम्म पुर्याउन पर्याप्त एम्बुलेन्स नहुँदा झनै समस्या उत्पन्न भएको बताइएको छ । जिल्ला सदरमुकाम सिलगढीमा केही दिन यतादेखि एम्बुलेन्सको अभाव देखिएको छ । सदरमुकाममा जम्मा दुई वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेका छन् । जिल्ला अस्पताल डोटीका दुई र दिपायल सिलगढी नगरपालिकाको एक एम्बुलेन्स प्रयोगमा नरहेका कारण एम्बुलेन्स अभाव देखिएको स्थानीयवासी तथा सञ्चारकर्मी कर्ण चन्दले जानकारी दिए।

    एम्बुलेन्स बिग्रिएपछि मर्मत नभएका कारण जिल्ला सदरमुकाममै एम्बुलेन्सको अभाव देखिएको हो । दिपायलमा रहेको शैलेश्वरी अस्पताल र चोपडा अस्पतालका दुई वटा मात्र एम्बुलेन्स प्रयोगमा रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्ला अस्पताल डोटीको एक एम्बुलेन्स बिग्रिएको र अर्को सेती प्रादेशिक अस्पताल कैलालीमा रहेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिएका छन् । दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्स पनि बिग्रिएको र मर्मतका लागी कैलालीमा लगिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग भएको एउटा एम्बुलेन्स बिग्रेका कारण मर्मतका लागि पठाएका छौँ, एम्बुलेन्स मर्मत भएर आएको छैन, आएपछि सञ्चालन हुन्छ ।”

    यसैगरी पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको ५० शय्याको सुजङ अस्पताल पनि एम्बुलेन्सविहीन छ । जिल्लाभरिमा कुल १५ वटा एम्बुलेन्स रहेको अवस्थामा जिल्ला सदरमुकाम सिलगढीमा रहेका तीन वटा एम्बुलेन्स एक साथ बिग्रँदा एम्बुलेन्सको अभाव भएको हो । डोटी जिल्लामा नौ वटै स्थानीय तहमा रहेका एम्बुलेन्सले स्थानीय तहभित्र भएका बिरामी बोक्ने गरेका छन् । अहिले १२ वटा एम्बुलेन्स मात्र सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक तेजवीक्रम शाहीले जानकारी दिए । सङ्क्रमित तथा अन्य बिरामीलाई थप उपचारका लागि जिल्लाबाहिर उपचारका लागि लैजान एम्बुलेन्स नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १२:५८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij