२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने आफ्नो प्रस्ताव पास हुने अवस्था नदेखेपछि राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक छोडेर हिँडेकी छन् ।
मन्त्री न्यौपाने सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जारी विधायन व्यवस्थापन समिति बैठक छोडेर हिँडेकी हुन् । निजामती कर्मचारीको अवकाश उमेरहद लागु गर्ने विषयमा कुरा मिलेको छैन । मुख्यसचिवको अनिवार्य अवकाशको समय प्रतिनिधिसभाले पारित गरेभन्दा फरक गरेर जानुपर्ने उनले प्रस्ताव गरेकी थिइन् ।
उनको प्रस्तावलाई सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले समर्थन जनाए तर विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन नगरेपछि मन्त्री न्यौपाने बैठक छोडेर बाहिरिएकी हुन् । समिति सभापति तुलसीकुमारी दाहालले मन्त्री न्यौपाने समय मागेर समिति बैठकबाट बाहिरिएको जानकारी दिइन् ।
प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष (५८ वर्ष) मा मुख्यसचिव अवकाश हुने, अर्को वर्ष ५९ र त्यसपछि ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको छ । त्यसविपरीत मन्त्री न्यौपानेले आइतबारको समिति बैठकमा विधेयक ऐनमा रुपान्तरित भएको ५९ वर्षमा अवकाश हुने प्रावधान लागु गर्ने प्रस्ताव राखेकी थिइन् ।
त्यो प्रस्ताव माओवादी र एकीकृत समाजवादीले मानिरहेका छैनन् । ‘मन्त्रीले समय माग्नुभयो र मैले नाइँ भन्न सकिनँ,’ सभापति दाहालले भनिन्, ‘कि मन्त्रालयले आफ्नो कुरा छोड्नुपर्यो कि माननीयहरूले सरकारको प्रस्ताव मान्नुपर्यो ।’
मन्त्री न्यौपाने बाहिरिए पनि सांसदहरू भने बैठकमै छन् । उनीहरूले आजै निर्णय गरेर अघि बढ्नुपर्ने बताइरहेका छन् ।
माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले प्रतिनिधिसभाले पास गरेको विषय उल्ट्याउन आवश्यक नरहेको बताए । ‘सर्वसम्मत निर्णय उल्ट्याउन सरकार प्रस्ताव लिएर आउने र आफुले भने अनुसार नभए छोडेर हिँड्ने कुरा गलत छ,’ उनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij