Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

अमेरिकाले नेपाली सेनालाई पठायो दुई वटा जहाज

अमेरिकाले नेपाली सेनालाई पठायो दुई वटा जहाज


  • 2.6K
    Shares

    अमेरिकाले नेपाली सेनालाई पठायो दुई वटा जहाज
    images

    काठमाडौं । अमेरिकी सरकारले नेपाली सेनालाई दुई वटा जहाज प्रदान गर्ने भएको छ। ती जहाजहरू शनिबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भइसकेका छन्।

    दुई वटा जहाज काठमाडौं ल्याए पनि अमेरिकी दूतावासले नेपाली सेनालाई हस्तान्तरण गर्न भने बाँकी नै छ। सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार ती जहाज एउटा स्काईट्रक र अर्को एयर एम्बुलेन्स हो।

    ‘जहाज हिजो नेपाल आइपुगेको छ। निकट भविष्यमा कार्यक्रम भएर नेपाली सेनालाई हस्तान्तरण हुनेछ,’ उनले भने। यी दुवै जहाज यही महिना एक कार्यक्रम गरी हस्तान्तरण गर्ने तयारी छ।

    प्रवक्ता बस्नेतका अनुसार स्काइ ट्रक विपद व्यवस्थापनका लागि परिचालन गर्ने तयारी छ। ‘स्काईट्रक विशेष गरी उद्धार, राहतका कामका लागि प्रयोग हुनेछन्,’ उनले भने।

    एयरएम्बुलेन्स भने सुत्केरी, विपदमा परेका घाइते, बिरामी लगायतलाई उद्धार गर्नका लागि गर्ने सेनाको तयारी छ। अमेरिकी सरकारले यसअघि सन् २०१९ मा पनि दुई वटा जहाज दिइसकेको छ। योसँगै नेपाली सेनासँग जहाजहरूको संख्या २० वटा छ।

    नेपाली सेनाले अहिलेसम्म बिरामी, घाइते तथा सुत्केरीको उद्धार गर्नका लागि हेलिकप्टरको प्रयोग गर्दै आएको छ। व्यावसायिक रूपमा उडान गर्ने निजी कम्पनीहरूसँग पनि एयरएम्बुलेन्स छैन। केही पटक श्री एयरलाइन्सको जहाजलाई नै एयरएम्बुलेन्स बनाएर प्रयोग गरिएको छ। तर नितान्त एम्बुलेन्सको रूपमा भने कुनै पनि जहाज थिएन।

    नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार नेपाली सेनाले प्राप्त गर्ने एयर एम्बुलेन्स नेपालकै पहिलो हो। ‘हाम्रोमा एयरएम्बुलेन्स छैन। नेपाली सेनाले प्राप्त गर्ने एयरएम्बुलेन्स नेपालमा दर्ता हुने नै पहिलो हुनेछ,’ उनले भने, ‘निजी क्षेत्र पनि कसैसँग एयरएम्बुलेन्स छैन।’

    उनकाअनुसार कोभिड-१९ को महामारीको बेलामा एयरएम्बुलेन्स राख्ने विषयमा प्राधिकरणले निजी क्षेत्रसँग छलफल अघि बढाएको थियो तर उक्त छलफल सफल हुन सकेन।

    ‘महिनामा दुई(तीन वटा मेडिकल इमर्जेन्सीका फ्लाइटहरू भइरहेका हुन्छन्। त्यसो हुँदा बाहिरबाट एयरएम्बुलेन्स ल्याउँदा महंगो शुल्क तिर्नुपर्छ,’ उनले भने, ‘केही समय श्री एयरलाइन्सको जहाजले पनि काम गर्‍यो। तर डेडिकेटेड जहाज होइन। त्यसैले नेपालमा बुद्ध, श्री, यतिका जहाजलाई पनि एयरएम्बुलेन्सको रूपमा प्रयोग गर्न सकिन्छ कि भनेर छलफल गरेका थियौं।’

    नेपाली सेनाको एयरएम्बुलेन्सले अन्तर्राष्ट्रिय स्तरमा उडान अनुमति पाएमा भने राम्रो हुने उनी बताउँछन्। यद्यपि सैनिक जहाज भएकाले अनुमति प्राप्त गर्न कठिन हुने उनले बताए।

    ‘यहीँ भएको जहाजले सम्बन्धित अस्पतालमा पुर्‍याउने काम हुँदा निकै सस्तो पर्न आउँछ। विदेशी एयर एम्बुलेन्स भन्दा नेपालको जहाजमा लग्दा लगभग ४० प्रतिशत मूल्य सस्तो पर्न जान्छ,’ उनले भने, ‘नेपाली सेनाले चलाउने यो जहाज राम्रो सुरूवात हुनेछ।’

     

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १४:४८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij