२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । मेचीनगरको -४ आलीस्थित पाउ पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा १ करोड ४२ लाख ८१ हजार संकलन भएको छ ।
समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१\८२ मा दान पेटिकाबाट ७४ लाख ७४ हजार, सहयोग रसिदबाट ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट ८८ हजार आम्दानी भएको बताएका छन् ।
प्रसिद्ध पाथीभरा देवीको पाउ रहेको पवित्र स्थानको रूपमा पूजापाठ र दर्शन गर्न मन्दिरमा दैनिक सयौँ भक्तजन आउने गर्छन् भने भारतको पश्चिम बंगाल, सिक्किम, आसामलगायत स्थानबाट पनि यहाँ दर्शनार्थी आउने गरेका छन् ।
समितिले आम्दानीलाई बैंकमा जम्मा गर्ने र बैंकमार्फत नै खर्च गर्दै आएको जानकारी दिएको छ । आम्दानीबाट मन्दिरको पुजारी तथा कर्मचारीको नियमित पारिश्रमिक दिने, आवश्यक भौतिक संरचना निर्माण गर्ने र भक्तजनको सुविधाका लागि विभिन्न खर्च गर्दै आएको छ ।
मन्दिरको शौचालय, धाम परिसरमा मार्वल तथा टायल्स बिछ्याउने काम र एउटा भवनसमेत बनाउँदा सो आर्थिक वर्षमा ५७ लाख खर्च भएको समितिका अध्यक्ष ढकालले बताएका छन् । मन्दिरको नाममा १ करोड १२ लाख २१ हजार बैंक मौज्दात रहेको छ भने समितिले ४ गुरुसहित ९ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij