२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । वीरगञ्जमा हैजाको प्रकोप नियन्त्रणबाहिर जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादव सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि वीरगञ्ज प्रस्थान गरेका छन् ।
गत शुक्रबार राति वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलबाट सुरु भएको हैजा अहिले समुदायस्तरमै फैलिँदै गएपछि सङ्घीय सरकारले विशेष चासो देखाएको हो ।
सङ्क्रमण नियन्त्रणमा आउनुको सट्टा नयाँ बिरामी थपिने क्रम जारी रहेपछि आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको आकस्मिक बैठकले दुवै मन्त्रीलाई प्रत्यक्ष अनुगमनमा पठाउने निर्णय गरेको थियो ।
मन्त्रीद्वयले वीरगञ्ज पुगेर नारायणी अस्पतालमा आयोजना हुने बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम छ । सो बैठकमा हैजा नियन्त्रणका लागि तत्काल अपनाउनुपर्ने उपाय, द्रुत स्वास्थ्य प्रतिकार्यका लागि थप जनशक्ति परिचालन तथा स्रोत व्यवस्थापनबारे छलफल हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल हैजाबाट सङ्क्रमित अधिकांश बिरामीको उपचार नारायणी अस्पतालमा भइरहेको छ भने समुदायमा नयाँ सङ्क्रमित भेटिने क्रम रोकिएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij