Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मन्त्रिपरिषद् पुनर्गठन

मन्त्रिपरिषद् पुनर्गठनमा ताकेता, कांग्रेस अनिच्छुक हुँदा साना दलका मन्त्री फेरबदलमा अभ्यस्त

मन्त्रिपरिषद् पुनर्गठनमा ताकेता, कांग्रेस अनिच्छुक हुँदा साना दलका मन्त्री फेरबदलमा अभ्यस्त


  • 372
    Shares

    • images
    मन्त्रिपरिषद् पुनर्गठनमा ताकेता, कांग्रेस अनिच्छुक हुँदा साना दलका मन्त्री फेरबदलमा अभ्यस्त
    images

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा सहभागी आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार नै निर्णयको जानकारी दिइसकिएको जसपा स्रोतले जनाएको छ । 

    शनिबार बसेको जसपाको पदाधिकारी बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह र खानेपानीमन्त्री प्रदीप यादवलाई फिर्ता बोलाएर सांसद डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय गरेको हो ।

    जसपा उपाध्यक्ष परशुराम बस्नेतका अनुसार साह र यादवलाई यही भदौ ११ भित्रमा राजीनामा दिन अध्यक्ष अशोक राईले निर्देशन दिएका छन् । 

    ’उनले भने, हामीले मन्त्रीहरूलाई एक वर्षका लागि मात्र पठाएका थियौं, अब नयाँ सांसदलाई अवसर दिने निर्णय भएको छ । प्रधानमन्त्रीलाई पनि यसबारे जानकारी गराइसकिएको छ ।’

    साह र यादव दुवै एक वर्षभन्दा बढी समयदेखि सरकारमा सहभागी भइसकेका छन् । 

    दुई महिनाअघि नै जसपाले मन्त्री फेर्ने तयारी गरे पनि प्रधानमन्त्री ओलीको ढिलासुस्तीका कारण कार्यान्वयन हुन सकेको थिएन । 

    जसपाका नेताहरूका अनुसार प्रधानमन्त्रीले निरन्तर आलटाल गरेपछि अब मन्त्री फिर्ता बोलाएर सरकारमा केवल समर्थन मात्र गर्ने विकल्पसमेत छलफल भएको छ ।

    यसैबीच, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले पनि आफ्ना मन्त्री परिवर्तन गर्ने तयारी गरेको छ । 

    हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका शरतसिंह भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्लालाई पठाउने चर्चा भए पनि औपचारिक निर्णय भने भइसकेको छैन ।

    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गर्ने तयारी गरे पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको असहमतिको कारण ढिलाइ भइरहेको बताइएको छ ।

    सरकारमा हाल एमाले, कांग्रेस, जसपा, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र लोसपा सहभागी छन् भने जनमत पार्टीले बाहिरैबाट समर्थन गरिरहेको छ ।

    यसैबीच, नेपाली कांग्रेस सभापति देउवाले सोमबार बिहानका लागि पदाधिकारी बैठक बोलाएका छन् । 

    बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति उम्मेदवार टुंग्याउने र उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा छलफल हुने बताइएको छ ।

    उपसभामुखलाई हटाउने प्रक्रियामा कांग्रेस–एमालेबीच सहमति भए पनि कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ । 

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा यसको विरोध गरिरहेका छन् । 

    उपसभामुख हाल अमेरिकामा छन् र उनी भदौ १३ मा काठमाडौं फर्किने कार्यक्रम छ । फर्किएपछि मात्रै हटाउने प्रक्रिया अघि बढ्नेछ ।

    देउवाले आन्तरिक समीकरण मिलाएर सबै सांसदबाट हस्ताक्षर गराउने तयारी गरिरहेका छन् । 

    यसअघि उनले कोइरालासहितका नेतासँग छलफल गरे पनि पूर्ण सहमति जुट्न सकेको थिएन ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १०:०२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij