२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । कुवेतको गृह मन्त्रालयले विषाक्त मदिरा सेवनपछि उपचारार्थ अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ । देश निकालामा पर्नेमा ३५ नेपालीसहित ७१ जना छन् ।
कुवेती सञ्चारमाध्यमहरूका अनुसार तीमध्ये पनि मुख्य नाइके मानिएका ४ जनालाई हत्या अभियोग लगाएर मृत्युदण्ड हुनसक्ने छ । यो प्रकरणमा देश निकालामा परेकाहरुलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने भएको छ । कुवेतमा मदिरा सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्धित छ ।
कुवेतस्थित नेपाली दूतावासले पनि एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन त्यहाँ कार्यरत सबै नेपाली समुदायलाई विशेष अनुरोध गरेको छ ।
उता, कुवेतको प्रहरीले व्यापक सुरक्षाकर्मी परिचालन गरेर देशैभरि अवैध मदिरा बनाउने कारखानामाथि छापा मारेको छ । छापा मार्ने क्रममा नेपालीसहित सयौँ पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा अवैध बसोबासका मुद्दाहरूमा संलग्न र हालैका मृत्युहरूसँग सम्बन्धित खतरनाक अवैध मदिरा बनाउने कारखानामा कार्यरत रहेका छन् । कुवेतको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आवासीय र श्रम कानुन उल्लंघन गरेको आरोपमा २ सय ५८ जनालाई पक्राउ गरिएको जनाएको छ ।
उनीहरूमा भिसाको म्याद सकिएको, भिसा ओभरस्टे, फरार मुद्दाहरू र अन्य कानुन उल्लंघन गर्नेहरू रहेको गृह मन्त्रालयले जनाएको छ । कुवेतका उपप्रधानमन्त्री र आन्तरिक मन्त्री शेख फहाद अल–युसेफ अल–सबाहको निर्देशन र नागरिकता तथा आवासीय क्षेत्रका प्रमुख ब्रिगेडियर जनरल फवाज अल–रौमीको निरीक्षणमा सञ्चालन गरिएको गरिएको हो ।
अधिकारीहरूले कामदार र रोजगारदाता दुवै कानुनअन्तर्गत जबाफदेही हुनुपर्ने बताएका छन् । मन्त्रालयले उल्लंघन गर्नेहरूको निगरानी जारी राख्ने, अवैध श्रम अभ्यासहरूको सामना गर्ने र सबै बासिन्दा र रोजगारदाताहरूले कानुनी आवश्यकताहरूको पालना गर्ने, देशभर सुरक्षा र व्यवस्था सुदृढ गर्ने प्रतिबद्धता गरेको छ ।
सुरक्षाकर्मीहरूले मिथानोलको उत्पादन र वितरण गर्नेमाथि कडा कारबाही गरिने बताएका छन् । अवैध विषाक्त मदिराका सेवनका कारण १६ नेपालीसहित २३ जनाको मृत्यु भएको र १६० जना घाइते भएका थिए । जसमध्ये धेरैजसो नेपालीसहित एसियाली नागरिक रहेका छन् ।
मन्त्रालयले अनुसन्धानका क्रममा नेटवर्कका प्रमुख, एक बंगलादेशी र ३ नेपाली सहयोगीसहित ६७ जनालाई पक्राउ गरेको जनाएको छ । पूर्णरूपमा सञ्चालनमा रहेका ६ वटा कारखाना बन्द गरिएको छ भने आवासीय र औद्योगिक क्षेत्रहरूमा निर्माणाधीन चार थप साइटहरू कब्जा गरिएको छ । एक नेपालीले मिथानोल–आधारित पेय पदार्थ तयार गर्ने र बेच्ने गरेको स्वीकार गरेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij