२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताए । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा मंगलवारदेखि शुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएको हो । दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको विक्री नै ४० प्रतिशत बढ्ने आँकलन गरिएको उनले बताए । यसले बजारमा सुधारको संकेत दिएको उनको भनाई छ ।
पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् नरहेपनि गत वर्षदेखि निजी क्षेत्रको लागि उत्साह थपिँदै गएको उनले बताए । उनले सरकारले अबलम्बन गरेका नितिगत कारणहरुले गर्दा निजी क्षेत्र चलायमान हुन थालेको बताए। सरकारले निजी क्षेत्रको सुझाव अनुसार ३० भन्दा बढी कानुनको सुधार गरेको उनको भनाई छ ।
उहाँले सुधार गरिएको ऐन अनुसार नियममावली बनाउन आवश्यक रहेको पनि बताए । बजेट र मौद्रिक नीति पनि निजी क्षेत्रको सुझावअनुसार नै आएको उनले जानकारी दिए। बैंकमा प्रशस्त लगानीयोग्य रकम भएको, व्याजदर एकल अंकमा रहेको र कानून पनि निजी क्षेत्रमैत्री रहेको कारण लगानीको लागि योग्य वातारवण बनेको बताए । अध्यक्ष ढकालले सवारी साधनको लागि सरकारले लागू युरो ६ मापदण्ड सकरात्मक रहेपनि केही समय होल्ड गर्न आग्रह गरे। युरो ६ मापदण्ड लागू गर्ने निणय एकाएक भएकोले कतिपय व्यवसायीहरु समस्यामा परेको उहाँले बताए ।
अर्डरमा पठाइसकेका, उत्पादन भइसकेका र एलसी खोल्न बाँकी भएका कतिपय उत्पादकहरुको नेपालकै लागि बनाइएको सवारीसाधनहरु अलपत्र बनेको उनको भनाई छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij