२०८२ चैत्र १ गते आइतवार
चितवन । चितवनको माडीका कोरोना संक्रमित एक युवाले आत्महत्या गरेका छन् । माडी नगरपालिका ३ इनारबरुवाका ३५ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।
माडी नगरपालिकाका मेयर ठाकुर ढकालले दिएको जानकारी अनुसार उनी केही दिनअघि मात्र भारतबाट घर फर्किएका थिए । ‘स्वास्थ्यमा समस्या देखिएपछि उहाँको स्वाब परीक्षण गरिएको थियो,’ मेयर ढकालले भने, ‘बुधबार मात्रै उहाँमा कोरोना पोजिटिभको रिपोर्ट आएको हो । राति आत्महत्या गर्नुभएछ, दुःख लागेको छ ।’
ती युवाले आत्महत्या गर्नुको कारण भने नखुलेको ढकालले बताए । कोरोना संक्रमण देखिएपछि उनलाई गाईगोठमा आइसोलेसन बनाएर राखिएको स्थानीयले बताएका छन् । तर, मेयर ढकालले भने गाईगोठमा नभएर उनलाई घरमै राखिएको दाबी गरे ।
‘म भर्खरै घटनास्थलमा पुगेर आएको हुँ,’ मेयर ढकालले भने, ‘गाईगोठमा होइन, उहाँ घरमै अलग्गै बस्नु भएको थियो ।’ ती युवाले गएराति गोठमा झुण्डिएर आत्महत्या गरेका इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले जानकारी दिए ।
भान्जीको बिहेमा सहभागी भएर उनी १३ वैशाखमा भारतबाट घर आएका थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको मेयर ढकालले जानकारी दिए । ‘अब मृतक युवाका परिवारका सदस्य र वरपरका अन्य मान्छेको पनि स्वाब परीक्षण गरिने छ,’ ढकालले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij