२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा दुई तिहाइ पुर्याएपछि मात्रै उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रस्ताव दर्ता गर्ने भएका छन् ।
मंगलबार सत्तारुढ एमाले र नेपाली कांग्रेससहितको सत्ता गठबन्धनले अन्य दललाई समेत विश्वासमा लिएर दर्ता गर्न लागेको उपसभामुख इन्दिरा रानाविरुद्धको प्रस्ताव तत्काललाई रोकिएको हो ।
मंगलबार बिहानबाट नेपाली कांग्रेस र नेकपा एमालेले आ-आफ्नो संसदीय दलको कार्यालयमा सांसदहरूलाई बोलाएर खाली कागजमा हस्ताक्षर गराएका थिए । तर मंगलबारै दर्ता गर्ने भनिएको प्रस्ताव भदौ १३ गते अघि दर्ता नहुने श्रोतले बताएको छ । प्रस्ताव दर्ता भएको एक साताभित्र टुङ्ग्याउनुपर्ने संवैधानिक व्यवस्था छ तर अहिले उपसभामुख राना अमेरिकामा रहेकी छन् । उनी १३ गते मात्र काठमाडौँ फर्कने बुझिएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीकी सचिव अनिता देवी लगायत छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ सांसद आवश्यक पर्छ । अहिले कांग्रेससँग ८७, एमालेसँग सभामुख बाहेक ७७ सांसद छन् । दुई पार्टीको सङ्ख्या जोड्दा १६७ मत पुग्छ । बाँकी १७ मत पुर्याउनका लागि अहिले अन्य सत्तारुढ दलसँग छलफल गरिरहेका हुन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा छ । उसका ७ सांसद छन् । त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा छ । लाेसपासँग ४ सांसद छन् । सरकारमै रहेका दलहरूका सांसद जोड्दा १७८ सांसद छन् ।
अहिलेको बैठकमा जनमत र नागरिक उन्मुक्ति पनि सहभागी भएकाले उनीहरूले मत दिने निश्चित भएपछि हटाउने प्रस्ताव दर्ता गर्ने तयारी छ । जनमतसँग ६ र नागरिक उन्मुक्ति पार्टीसँग ४ सांसद छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij