२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कात्तिक १७ गते रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आकांक्षी ९ जना क्यान्डिडेट छलफलका लागि भैरहवा पुगेका छन् । आइतबार भैरहवास्थित रामादा होटलमा उम्मेदवार चयन प्रक्रियाबारे छलफल जारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
उम्मेदवार हुन निवेदन दिनेहरूसँग प्यानलमा छलफलको लागि प्रवक्ता झासहित सहमहामन्त्री विपिन आचार्य, सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल र सांसद प्राध्यापक डाक्टर चन्दा कार्की सहभागी भएका छन् भने त्यसरी नै निवेदकहरूसँग पार्टीका उपसभापति तथा सांसद डा।स्वर्णिम वाग्लेले ‘वन अन वन’ छलफल गर्ने कार्यतालिका रहेको छ ।
यस प्रक्रियाको उद्देश्य रास्वपाको तर्फबाट उम्मेदवारीको लागि निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा कति जानकारी राख्छन् भन्ने विषयमा बुझ्ने प्रयास भएको झाले बताएका छन् ।
रास्वपाले साउन २७ देखि भदौ ११ गतेसम्म पोलिटिकल एकेडेमी विधि अनुसार आन्तरिक मूल्याङ्कन गर्ने कार्य तालिका रहेको छ भने भदौ १२ र १३ गते प्राइमरी निर्वाचन राखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij