Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

लकडाउनले हामीलाई सडकमा पुर्‍यायो, भोको पेट भर्न खाना खोज्दै फेरि सडकतीर मजदुरहरु...

लकडाउनले हामीलाई सडकमा पुर्‍यायो, भोको पेट भर्न खाना खोज्दै फेरि सडकतीर मजदुरहरु...


  • 7.7K
    Shares

    लकडाउनले हामीलाई सडकमा पुर्‍यायो, भोको पेट भर्न खाना खोज्दै फेरि सडकतीर मजदुरहरु...

    थापाथलीस्थित प्रसूतिगृहको पछाडितर्फको चौरमा टुक्रुक्क बसेका छन् शिवकुमार सुवेदी । खासमा यतिखेर उनी कुनै निर्माण साइटमा काम गरिरहेको हुनुपर्ने थियो । तर, लकडाउनले उनलाई सडकमा पुर्‍यायो । एक छाक खानकै लागि सडकमा हात थाप्नुपर्ने बाध्यतामा उनलाई धकेल्यो ।

    दोलखाको चरिकोटका सुवेदी परिवारसँग नयाँ वर्ष मनाएर रोजगारीका लागि काठमाडौं छिरे । कीर्तिपुरमा निर्माण मजदुरका रूपमा काम गरिरहेका सुवेदीको काम खोसियो, लकडाउनले ।

    दिनभर काम गरेर साँझपख ठेकेदारसँग पैसा लिएर चुल्हो बाल्ने सुवेदीको चुल्हो बल्न छाड्यो । ‘बाँच्नु त पर्‍यो नि,’ उनी भन्छन्, 'एक छाक भए पनि पेट भर्नुपर्‍यो भनेर आएको हुँ ।'

    लकडाउनमा थापाथली आइपुग्न पनि त कहाँ सजिलो छ र ? सडकमा प्रहरीको आँखा छल्दै आउनुपर्छ । हरेक चोक र गल्लीमा प्रहरीले रोकेर केरकार गर्छ ।  ‘भात खान जान थालेको भन्छु,’ उनी सुनाउँछन्, ‘अस्ति त बल्खुमा रोक्यो प्रहरीले ।’

    छ जनाको परिवार पाल्नुपर्ने जिम्मेवारीसहित कामको खोजीमा काठमाडौं आइपुगेका सुवेदीले परिवारलाई आफू सडकमा मागेर पेट भर्न थालेको कुरा सुनाएका छैनन् । ‘कमाउन आएको मान्छेले खान पाइनँ भन्ने कुरा त कसरी सुनाउनु,’ उनले भने, ‘बरु यो लकडाउन खुले घर जान हुन्थ्यो ।’

    घर जाने आसमा एक छाक भए पनि थापाथलीको चौरमा सुवेदी र उनीजस्तै अन्य मजदुरहरूले खाना खाइरहँदा सरकारले भने लकडाउनको अवधि एक हप्ता थप्यो ।

    गत वर्षको लकडाउनमा पनि मजदुरहरू यसरी नै सडकमा आइपुगेका थिए । एक छाक खाना खोज्दै मजदुर सडकमा आएपछि काठमाडौं महानगरपालिकाले आफ्नो बेइज्जत भयो भन्दै मजदुरलाई खाना वितरणमा बन्देज लगाएको थियो । 

    ४३ वर्ष पुगिन् गीता पाण्डे । उनी शंखमुलमा बिहान(बेलुका तरकारी बिक्री गर्थिन्, दिउँसो घरमा गएर लुगा धुने काम । लकडाउनले उनको पनि काम खोस्यो । र, अधिकांश मजदुरको जस्तै उनको घरमा पनि चुल्हो बल्न छाड्यो । ‘किनेर खान सक्ने भए त यहाँ किन पो आउँथेँ र रु,’ पाण्डेले भनिन्, ‘यसरी खान लाज त लाग्छ नि, लाज मानेर के गर्नु, पेट भर्नैपर्‍यो ।’

    हरेक दिन श्रम गरेर पेट भर्ने मजदुरलाई लकडाउनले भोकै पार्छ भन्ने कुरा गत वर्ष नै थाहा भइसकेको थियो । तर, सरकारले लकडाउन घोषणा गर्नुअघि ती मजदुरका बारेमा एक पटक पनि सोच विचार गरेन ।

    परिवार पाल्ने जिम्मेवारी बोकेर कामको खोजीमा काठमाडौं उपत्यका छिरेका यी मजदुरहरू न घर जान सक्छन्, न काठमाडौंमै बस्न सक्छन् । ‘घर जाऊँ भने गाडी चल्या छैन । ट्रक नै चढेर पनि जान हुन्थ्यो, तर रित्तो हात त कसरी घर जानु ?,’ झापा कमल गाउँपालिकादेखि निर्माण मजदुरको काम गर्न आइपुगेका सुमन थापा मगरले प्रश्न गरे ।

    रित्तो हात घर फर्किन नपरोस् भन्दै उनी लकडाउनमा पनि दिनभर कामको खोजीमा निस्कन्छन् । ‘निस्कियो कि पुलिसले समातेर दिनभर उभ्याउँछ,’ उनले गुनासो गर्दै भने, ‘हामीलाई कि त खाना देऊ, होइन भने काम त खोज्न दिनुपर्‍यो ।’

    थापाथलीलगायतका क्षेत्रमा खाना वितरण गरिरहेकी इन्दिरा राना मगर सरकारले अघिल्लो वर्षको अवस्थाबाट पाठ नसिकेकोमा गुनासो गर्छिन् । ‘गत वर्ष नै देखिएको थियो मजदुरको अवस्था । सरकारले यस वर्ष त ख्याल गर्नुपर्ने थियो नि,’ उनले भनिन् ।

    गएको असोजमा आफैँ कोरोना संक्रमित भएकी राना मगरलाई यसपटक खाना माग्दै मजदुरहरूले तारन्तार फोन गरेपछि उनी भोकाएका मजदुरको पेट भर्न सडकमा आएकी हुन् । कोरोना कहरमा एक छाक खानकै लागि सडकमा आउनुपरेपछि निराश हुँदै सुवेदीले भने, ‘यस्तो पनि दिन आयो । के-के आइलाग्छ खै ?’

    थापाथली, वसन्तपुर, ठमेल क्षेत्रमा खानाको खोजीमा निस्केका मजदुरहरू भेटिन्छन् । ‘कमाएर खुवाउनुपर्ने मान्छे नै मागेर खाने अवस्थामा आइपुगियो भनेपछि अब के भन्नु र ?,’ सुमन चिन्तित हुँदै भन्छन् । 

     

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १३:३४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij