२०८२ चैत्र १ गते आइतवार
सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षणका कारण दुई दिनको फरकमा चार जनाको मृत्यु भएको छ । भारतसँग सीमा जोडिएको बलरा नगरपालिका-६ मिर्जापुरमा उच्च ज्वरोसहितको स्वास्थ्य समस्याका कारण गएको आइतबार तीन र सोमबार एकसहित चार जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा दुई जना ८० वर्षमाथिका वृद्ध छन् । बाँकी दुई जना भने ४० वर्ष आसपासका पुरुष रहेका बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहले जानकारी दिए । मृत्यु भएका सबैको आफन्तले नै सद्गद् गरिसकेका छन् । उनीहरुमा कोरोना संक्रमण थियो, थिएन परीक्षण गर्न नपाइएको मेयर सिंहको भनाई छ ।
‘अहिले पनि गाउँमा ज्वरो आएका सयौँ बिरामी छन्,’ मेयर सिंहले बुधबार बिहान भने, ‘हामीले नगरपालिकाको स्वास्थ्यकर्मीको टोली घरघरमा खटाएका छौँ, तर ज्वरो आए पनि मानिसहरु स्वास्थ्य परीक्षण गर्न मानिरहेका छैनन् । यहाँ अवस्था बिकराल बन्ने सम्भावना छ ।’
परीक्षण गर्दा कोरोना पुष्टि भए नगरपालिकाले क्वारेन्टाइनमा राख्ने डरको कारण मानिसहरु बिरामी भए पनि घरभित्रै बस्ने गरेका मेयर सिंह बताउँछन् । ‘कतिपय गाउँबाट हामीलाई गाउँले सबै बिरामी भएको खबर आउँछ । स्वास्थ्यकर्मीको टोली घरघरमा पुग्दा कोही घर बाहिर निस्कँदैनन्,’ मेयर सिंहले भने ।
ज्वरोको कारण चार जनाको मृत्यु भएपछि नगरपालिकाले गएको आइतबारदेखि नगरका केही ठाउँका शंकास्पद बिरामीको स्वाब परीक्षण गरेको थियो । ‘आइतबार ३९ जनाको स्वाब परीक्षण गर्दा १० जनाको पोजेटिभ रिपोर्ट आयो,’ मेयर सिंहले भने, ‘सोमबार २८ जनाको परीक्षण गर्दा ८ जना र मंगलबार पाँच जनाको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखियो । यसले पनि बलरामा कोरोना संक्रमणको अवस्था भयाबह रुपमा बढिरहेको छ भन्ने देखिन्छ ।’
सबै शंकास्पद बिरामीले परीक्षण गर्न नमान्ने र नगरपालिकाको क्षमता पनि सबैको परीक्षण र उपचार गर्न सक्ने नभएको गुनासो उनले गरे । ‘बलराको जनसंख्या झण्डै ७० हजार छ,’ मेयर सिंहले भने, ‘सबैको उपचार गर्ने औकात हामीसँग छैन । हाम्रो बजेट नै थोरै छ । केन्द्र र प्रदेश सरकारले कुनै पनि सहयोग गरेका छैनन् । अनि हामीले मात्रै कतिको परीक्षण र उपचार गर्नु ?’
केन्द्र सरकारले चालु आर्थिक वर्षको लागि १३ करोड ३८ लाख रुपैयाँ मात्र बजेट पठाएको गुनासो उनले गरे । ‘यति बजेटबाट म बिरामीको परीक्षण र उपचार गरौँ कि विकास निर्माणका काम गरौँ ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘केन्द्र सरकारले नै हामीलाई सौतेनी व्यवहार गरिरहेको छ ।’
बलरा भारतसँग सीमा जोडिएको छिमेकी जिल्ला रौतहट सदरमुकाम गौर नजिकको नगरपालिका हो । यहाँका नागरिक अहिले पनि दैनिक उपभोग्य बस्तु किनमेलका लागि नजिकै रहेको भारतीय बजार जाने गरेका छन् । एक किलो नुन र तेल किन्न पनि भारततिरै जानुपर्छ,’ मेयर सिंहले भने, ‘हामी चाहेर पनि आफ्ना नागरिकलाई उता र उताका नागरिकलाई यता आउनबाट रोक्न सक्ने अवस्थामा छैनौँ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij