२०८२ आश्विन २६ गते आइतवार
मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ ।
देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक/दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्कत रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij