२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाल सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ ले दिएको अधिकार प्रयोग गर्दै विभिन्न ७० प्रकारका रोगलाई व्यवसायजन्य रोगको सूचीमा समावेश गरी राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
यो निर्णयसँगै अब कार्यस्थलमा हुने जोखिमका कारण कुनै श्रमिकलाई तोकिएका रोगहरू लागेमा त्यसलाई कानुनी रूपमा ‘व्यवसायजन्य रोग’ मानिनेछ र श्रमिकले कानुनबमोजिम उपचार तथा क्षतिपूर्ति पाउने बाटो खुलेको छ ।
श्वासप्रश्वास प्रणालीका रोगहरूमा निमोकोनियोसिस, साइडरोसिस, ब्यागासोसिस, दीर्घकालीन अवरोधक पल्मोनरी रोग रहेका छन् ।
त्यस्तै छाला र हाडजोर्नीका रोगहरूमा छालाका रोगहरू रसायन वा अन्य वस्तुको सम्पर्कले हुने एलर्जी र डर्माटाइटिस रहेका छन भने हाडजोर्नी रोगमा कार्पल टनेल सिन्ड्रोम, टेनोसिनोभाइटिस र बर्साइटिस, मेनिस्कस लिजन्स रहेका छन् ।
त्यस्तै व्यवसायजन्य क्यान्सरमा एस्बेस्टोस, क्रोमियम, कोइला टार्स, कोइला टार पिचहरू वा सुट्स, बेन्जिन, आयोनिक विकिरण, टार, पिच, बिटुमेन, खनिज, तेल काठको धुलो, आर्सेनिक र यसका कम्पाउन्डहरू, क्याडमियम, र हेपाटाइटिस बी–सी भाइरस जस्ता तत्वहरूको सम्पर्कमा आउने कामहरूलाई क्यान्सरको जोखिमयुक्त मानिएको छ ।
श्रम ऐन २०७४ को परिच्छेद १२ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था रहेको छ । जसमा कुनै व्यवसायजन्य रोग लागेमा प्रतिष्ठानले त्यस्तो रोगको उपचारका लागि तोकिए बमोजिमको उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भएमा तोकिए बमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनु पर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij