Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा

पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा


  • 666
    Shares

    • images
    पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा
    images

    काठमाडौं । लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ ।

    भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिव एक दशकदेखि सुरूआत भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्ती तर्फ पुगेको हो । अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन् । 

    पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ, भने कुमार केसीको घर उच्च जोखिममा परेको छ । पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सर सामान सुरक्षितस्थान तर्फ सारिएको छ भने बस्नको लागि अस्थायी टहरासमेत निर्माण गरिएको छ । पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको स्थानीय बाबुराम जैसीले जानकारी दिए । 

    केही वर्ष पहिलेदेखि सुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन् । पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला बस्तीनै दुर्घटनामापर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । 

    गत वर्ष सोही पहिरोको कारण गाउँपालिकाको केन्द्रदेखि वडा नं १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो । पातीचौर देउपुर लप्सीबोट सडकको कोरुङ्गा खण्डको झण्डै दुई किलो मिटर पक्की सडक क्षतिग्रस्त भएको छ । यसवर्ष पनि सो सडक पूर्णरूपले अवरुद्ध बनेको छ । 

    गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकनै अवरुद्ध भएपछि स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ । अन्य वैकल्पिक सडकसमेत मर्मत सम्भार नहुँदा आवतजावतमा निकै समस्या परेको स्थानीय शिक्षक भूमिराज शर्माले जानकारी दिए । विकल्पको रूपमा रहेको बेतेनी गौँडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ भएको उनले बताए । 

    वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अव्यवस्थित किसिमले सडक निर्माण गरिएको र ढल निकासको राम्रो व्यवस्था नभएका कारण ग्रामीण भेगका सडक निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन् । वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीय बताउँछन् ।

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - ०९:४१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij