२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे कास्ट्रेन्स्ज पिरामिड भनिने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल आरोहणका लागि प्रस्थान गर्दै छन् । विश्वमा देखिरहेको जलवायु परिवर्तनको मुद्दा बोकेर पाण्डे इन्डोनेसियाको हिमाल आरोहणमा निस्कन लागेका हुन् ।
इन्डोनेसिया जानुअघि पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहण अभियानमा सफलताको शुभकामना दिई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पाण्डेलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अभियानमा सफल रही स्वदेश फिर्न शुभकामना दिएका थिए । पाण्डे ११ अगस्टमा इन्डोनेसिया प्रस्थान गर्दैछन् ।
मकालु आउट फिटले सघाएको पर्वतारोही पाण्डेको यस अभियानमार्फत सदाझैँ जलवायु परिवर्तनको मुद्दा उठाउने उनले बताएका छन् ।
पर्वतीय देशको बासिन्दा भएका कारणले जलवायु परिवर्तनको असर प्रत्यक्ष भोगेको हुँदा यसबारे जनचेतना जगाउन र नीति निर्माणमा घच्घच्याउनु आफ्नो कर्तव्य रहेको उनले बताएका छन् ।
सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका विभिन्न हिमालसहित दर्जनको सङ्ख्यामा सफल आरोहण गरिसकेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान सुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउन्ट एलब्रस आरोहण गरेका थिए ।
उनले यसैवर्ष फेब्रुअरीमा अर्जेन्टिनामा रहेको दक्षिण अमेरिकी महादेशको उच्च शिखर अकोन्कागुआको सफल आरोहण पनि गरिसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij