२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका रवीन्द्र ढाँट यतिखेर चर्चामा छन् । २८ वर्षीय ढाँट रोजगारीका लागि भारत गएका थिए । रवीन्द्रका भाइ लक्ष्मण ढाँटका अनुसार भारतमा रहँदा रवीन्द्रले ढुङ्गा फुटाउनेदेखि बिजुलीका खम्बा बोक्नेसम्मको काम गरे । लक्ष्मण भन्छन्, ‘त्यसरी ज्याला मजदुरी गरेको पैसा घरमा पठाउनुहुन्थ्यो । त्यही पैसाले हाम्रो घरको खर्च चल्थ्यो ।’
ढाँटले भारतमा भारतमा ज्याला मजदुरी मात्र गरेनन् । उनले ज्याला मजदुरीसँगै Mixed martial arts -MMA (एमएमए)पनि खेल्न सुरु गरे । त्यही खेलले आज रवीन्द्रलाई चर्चाको शिखरमा पुर्याएको । उनले हालै भारतको नोयडामा भएको एमएमए १७ को उपाधि जितेका छन्, त्यो पनि भारतीय खेलाडीलाई पराजित गरी । रवीन्द्रले भारतमा यो उपाधि जितेपछि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमै उनलाई सम्मान गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले बधाई दिए ।
रवीन्द्रले नाम कमाएको एमएमए खेल के हो ?
युनाइटेड मिक्स्ड मार्सल आर्ट्स संघ, नेपालका अध्यक्ष श्रवण बल तामाङका अनुसार एमएमए भनेको मार्सल आर्ट्सको कौशल मिसिएको फुल कन्ट्याक्ट कम्ब्याट खेल हो । तामाङका अनुसार यो खेलमा हात, खुट्टा र सम्पूर्ण शरीरको प्रयोग गरेर प्रतिद्वन्द्वीमाथि प्रहार गर्नुपर्छ ।
उनी भन्छन्, ‘यो खेलमा अन्य combat sports को मिश्रणबाट आएका विभिन्न fighting techniques /skills प्रयोग गर्न पाइन्छ । कतारेमा पन्चिङका लागि हातको प्रयोग बढी हुन्छ । तेक्वान्दोमा किक हान्न खुट्टाको बढी प्रयोग हुन्छ । मवाथाई खेलमा हात र खुट्टा दुवैको पूर्ण प्रयोग हुन्छ । तर, एमएमएमा यी सबै टेक्निक प्रयोग हुन्छन् । यो खेल उठेर स्ट्राइक गर्ने टेक्निकमा मात्र नभई ग्राउन्ड टेक्निकमा पनि केन्द्रित हुन्छ ।’
तामाङले रवीन्द्र ढाँटको खेल नेपालमा पनि हेरेका थिए । ‘अलिक पहिले रवीन्द्रसँग भेट भएको थियो । त्यतिखेर उनी नेपालमा हामीले आयोजना गरेको एमएमए प्रतियोगितामा भाग लिन आएका थिए । त्यतिखेर मैले उसको खेल हेर्न पाएँ । उसको प्रर्दशन निकै उत्कृष्ट लाग्यो । दामी लाग्यो ।’
तामाङका अनुसार एमएमए प्रतियोगिता सहभागी हुन प्रारम्भिक चरणका प्रतिस्पर्धामा सहभागी हुनुपर्छ । त्यसपछि मात्र ‘प्रो’ चरणका प्रतियोगिता सहभागी हुन पाइन्छ । अत्यधिक चोटपटक लाग्ने भएकाले यो खेल खेल्ने खेलाडीका लागि बीमा अनिवार्य हुन्छ ।
अध्यक्ष तामाङका अनुसार पछिल्लो समय नेपालमा तेक्वान्दो, कराते, मवाथाईलगायतका मार्सल आर्ट्स खेलको पृष्ठभूमि भएका खेलाडीहरू एमएमएतिर आकर्षित हुन थालेका छन् । उनी भन्छन्, ‘यो खेल सिक्न चाहनेहरूको संख्या पनि बढेको छ । सिकाउनेको संख्या पनि बढ्दै छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij