२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । भारतको उत्तराखण्डमा काम गर्न गएका धादिङ ज्वालामुखी गाउँपालिका वडानम्बर २ का चार जना नेपाली बाढी पहिरोमा परेको आशङ्का गरिएको छ ।
उनीहरू घटना हुनुभन्दा केही समयअघि परिवारको सम्पर्कमा रहेपनि त्यसपश्चात् सम्पर्कविहीन भएको बताइएको छ । परिवारका सदस्यहरूले उनीहरूको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङलाई अनुरोध गरेका छन् ।
परिवारका सदस्यहरूको आग्रह अनुसार गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई खोजीका लागि अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।
यसअघि उक्त घटनामा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएका खबरहरू आएका थिए । साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्याएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij