२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्।
आफूलाई थुनाबाहिर राख्न माग गर्दै तीन दिन पहिले निवेदन दिएका उनले अदालतमा आफ्नो भागको बिगो बापतको बैंक जमानत पनि पेस गरेका हुन्।
सुप्रिम सहकारी ठगीका अभियुक्त लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेश गरिसकेको लामिछाने निकट स्रोतले जानकारी दिएको छ।
‘उहाँले निवेदनसँगै आफ्नो भागको बिगो बापतको बैंक जमानत पनि बुझाइसक्नु भएको छ, स्रोतले भन्यो, उहाँले आफू निर्दोष रहे पनि फासाइएको र सहकारी पीडितका लागि आफ्नो भागको बिगो बापतको रकम तिर्न तयार रहेको बताउनु भएको छ। तर इजलासको कुरा रह्यो यस विषयमा के हुन्छ भन्ने।’
उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन्।
६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ। दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij