२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । काठमाडौंको बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
साउन १८ मा लामा पेट्रोल पम्प अगाडी मकवानपुर घर भएर गोकर्णेश्वर नगरपालिका–४ नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो ।
अघिल्लो दिन मिनिरल वाटरको बोतलको विषयमा विवाद हुँदा भोलिपल्ट खुकुरी हानेको आरोपीहरूले प्रहरीसँग बताएका छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘अघिल्लो दिन मिनिरल वाटरको विषयमा विवाद भएको रहेछ ।’ खुकुरी प्रहारमा संलग्न आरोपमा पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भएर दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भएर जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगर छन् ।
उनीहरूलाई बुधवार काठमाडौं महानगरपालिका–६ रामहिटी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले बताए ।
पीडित युवकको अहिले वीर अस्पतालमा उपचार हुँदैछ । उनको बायाँ कान पछाडिको भागमा चोट लागेको एसपी चन्दले जानकारी दिए । खुकुरी प्रहारमा संलग्नहरू लागुऔषध प्रयोगकर्ता हुन् । घटनास्थल नजिकबाट प्रहरीले दुई वटा खुकुरी बरामद गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij