२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । दाङमा नौ वर्षीय बालकको हत्या गरी फरार भएकी एक महिला २३ वर्षपछि पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्ता शर्मा पण्डित रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
ती महिलालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको शाहले जानकारी दिए।
विसं २०५९ असार १९ गते सौताको नौ वर्षीय छोरा शरद शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखाडीमा गाडेको अभियोगमा जिल्ला अदालत दाङले शर्मालाई विसं २०६० असोज २६ गते दुई वर्ष कैद सजाय तोकेको थियो। तर, पुनरावेदन अदालतले सोही वर्ष माघ ३ गते कैद सजाय बढाएर १० वर्ष पुर्याएपछि उनी फरार थिइन्।
शर्मा काठमाडौँमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी टोली खोजतलासका लागि खटिएको थियो।
गढवा प्रहरी टोलीले जिल्ला प्रहरी परिसर काठमाडौँको सहयोगमा नयाँ बसपार्क क्षेत्रमा शर्मालाई मंगलबार बिहान ८ः३० बजेतिर पक्राउ गरेका हो।
ती महिलालाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij