Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गुण्डा नाइके चक्रे मिलनविरुद्ध भक्तपुरमा पनि मुद्दा चलाइँदै

गुण्डा नाइके चक्रे मिलनविरुद्ध भक्तपुरमा पनि मुद्दा चलाइँदै


  • 1.1K
    Shares

    • images
    गुण्डा नाइके चक्रे मिलनविरुद्ध भक्तपुरमा पनि मुद्दा चलाइँदै
    images

    काठमाडौं । जन्मदिन मनाउने क्रममा मध्यरातसम्म हो(हल्ला गरेपछि गत विहीबार पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनविरुद्ध भक्तपुरस्थित जिल्ला प्रहरी परिसरले कुटपिट मुद्दा चलाउने तयारी गरेको छ ।

    २०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनामा उनको संलग्नता पुष्टि भएपछि मुद्दा चलाउने तयारी गरिएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले  बताए । अहिले अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी काठमाडौंबाट मुद्दा चलिरहेकाले उनी हाल भद्रकालीस्थित प्रहरी हिरासतमा छन् ।

    भक्तपुर प्रहरी प्रवक्ता न्यौपानेका अनुसार, काठमाडौं प्रहरीको हिरासतमा रहेकै अवस्थामा उनको बयान लिने काम अगाडि बढेको छ । उक्त मुद्दा प्रहरी वृत्त, थिमीले अगाडि बढाउने भएको हो ।

    थिमी प्रहरी वृत्तका डीएसपी नवराज ढुंगानाका अनुसार एक वर्ष पुरानो मुद्दामा उनको वतन नखुलेका कारण वतन खुलाएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढ्ने छ । भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए । त्यसपछि चक्रे आर्फैँले फोन गरेर रायमाझीलाई धम्क्याएका थिए ।

    भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले सांघातिक हमला गरेको थियो । सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको थियो । उक्त जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते दर्ता भएको थियो । जाहेरीमा प्रतिवादीका रूपमा पहिलो नाम चक्रेकै थियो । तर, ठेगाना नखुल्दा प्रहरीले खवासलाई मात्र प्रतिवादी बनाएको थियो ।

    चक्रेको हकमा उनी पक्राउ परेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोगपत्र दायर गरिने गरी मुद्दा बुझाइएको थियो । रायमाझीको जाहेरीमा प्रतिवादी बनाइएका चक्रे मिलन नै अहिले काठमाडौं प्रहरीको हिरासतमा रहेका व्यक्ति हुन् भन्ने कुरा प्रमाणित गर्ने प्रक्रियामा प्रहरी छ ।

    कुटपिटको उक्त घटनामा संलग्न व्यक्ति पहिचानको प्रक्रिया पनि जारी रहेको थिमी वृत्तका डीएसपी ढुंगानाले बताए । अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका १९ प्रतिवादीभित्रै उक्त घटनामा संलग्न व्यक्ति पनि हुनसक्ने आशंका गरिएको छ ।

    ‘काठमाडौंमा मुद्दा सकिनासाथ हामी ल्याउँछौं र अनुसन्धान गर्छौं’, भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताए ।

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १४:२६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij