२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । कञ्चनपुरमा १८ वर्षीया युवती मृत फेला परेकी छन्। माइती पक्षले उनको हत्या भएको आशंका गरेका छन्।
१८ वर्षीया सम्झना भट्ट कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–२ सिहपालकी आइतबार साँझ झुन्डिएको अवस्थामा घरमै मृत फेला परेकी हुन्।
घटना अनुसन्धानका लागि उनका पति २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराले जानकारी दिए।
सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउचोटसमेत देखिएको आरोप माइती पक्षको छ। डीएसपी बोहोराले पनि घटना शंकास्पद देखिएको बताए।
‘मृतकको शरीरमा ठूलो बाहिरी चोट नदेखिए पनि नंग्य्रयाएका जस्ता चोटपटक देखिन्छ,’ डीएसपी बोहोराले भने, ‘घटनाको विषयमा मृतक युवतीका पति पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ। उनका माइती पक्षलाई पनि प्रहरी कार्यालयमा बोलाएका छौँ।’
सम्झना घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको परिवारका सदस्यले बताएका छन्। सम्झना र पवनबीच गत फागुनमा मात्रै प्रेम विवाह भएको थियो ।
विवाहपछि छोरीलाई ज्वाइँले मानसिक र शारीरिक यातना दिँदै आएको आरोपसमेत माइती पक्षको छ। मृतक किशोरी कक्षा १२ मा अध्ययनरत थिइन्। उनको शव पोस्टमार्टमको लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij