२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले साउन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरेपछि अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको छ।
कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३० हजार ९५ कित्ता शेयर कर्मचारीहरुका लागि र ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन्।
सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्ने छन्।
निष्काशन बन्द छिटोमा साउन २९ गते हुनेछ भने ढिलोमा भदौ ९ गते हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij