२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको विषय छानबिन गर्नका लागि गठित समितिका संयोजकसहित ४ सदस्य बैठक छोडेर बाहिरिएका छन्। समितिका एक सांसदका अनुसार बैठक चलिरहँदा उनीहरू बैठक छोडेर बाहिरिएका हुन्।
बैठक चलिरहेको थियो तर एकाएक सत्तापक्षका नेपाली काङ्ग्रेसका दुई र एमालेका दुई जना बैठक छोडेर बाहिरिएका थिए । उनले भने, उहाँहरू १ बजेतिर बाहिरिनु भएको हो हामीले गरेको फोन पनि उठाउनुहुँदैन। कहाँ जानुभयो पत्तो छैन। आज छानबिन प्रतिवेदनको भाषालाई अन्तिम रुप दिने, सक्ने भन्ने थियो ।
बैठक छोडेर निस्कनेमा समिति संयोजक तथा कांग्रेस सांसद जीवन परियार, कांग्रेस सचेतक सुशीला थिङ त्यस्तै एमालेकी ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य छन्।
समितिकी सदस्य तथा राप्रपाकी सांसद रोशन कार्कीले पनि चारजना सांसद एक्कासि उठेर हिँडेको बताइन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भने आफूहरू समितिको बैठकमा बसिरहेको र केही सदस्य बैठकमा नभएकोले पर्खिरहेको जानकारी दिएका छन्।
गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो। पछि एक साता थपिएको हो। थपिएको म्याद आज सकिँदैछ ।
कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij