२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् ।
आइतबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो हुँदै गएको, कालोधनलाई सेतो बनाउने काम निर्वाचनमा हुने गरेको लगायतका तर्कसहितका धारणा राखेका थिए ।
त्यसप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले ०४८ सालमा आफूले पहिलोपटक झापाबाट निर्वाचन लडेको र उक्त निर्वाचनमा पार्टीले दिएको २ सय रुपैयाँमा अझै २० रुपैयाँ बचेको बताएका छन् । उक्त बचेको २० रुपैयाँ चुनाव सकिएपछि साथीहरूसँग बसेर चिया पिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘निर्वाचनको बारेमा विद्वान मित्रहरूले भनेको कुरामा एकाध ठाउँमा च्यालेन्ज गर्न मन लाग्यो । म आफैं निर्वाचन लडेर आएको छु । मेरो निर्वाचन ०४८ सालमा ४३ हजार रुपैयाँ साथीहरूले चन्दा उठाएका थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘२१ हजार निर्वाचनमा खर्च भयो । बसको छतमा बसेर हिँड्दा साथीहरू खसे । दुई जनाको उपचार गर्दा १२ हजार खर्च भयो । १० हजार रुपैयाँ चुनाव पछि बचत रह्यो पार्टीकै कोषमा ।’
उक्त चुनाव हुने बेलामा आफ्नो पार्टीको महासचिव माधव कुमार नेपाल रहेको र नेपालले खर्चस्वरुप आफूलाई २ सय रुपैयाँ दिएको प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफू नेपालका आम निर्वाचनमा दुई पटक सर्वाधिक मत ल्याएर जितेको मान्छे भएको भन्दै स्वच्छताका साथ पनि चुनाव जित्न सकिने जिकिर गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij