२०८२ चैत्र १ गते आइतवार
धनुषा । धनुषामा अस्पतालले भर्ना लिन नमान्दा कोरोना संक्रमणका लक्षण देखिएका एक बिरामीको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका ४ का ४५ वर्षीय लोकबहादुर परियारको उपचारै नपाएर मंगलबार बिहान मृत्यु भएको हो ।
चार दिनदेखि ज्वरो, रुघाखोकी लागेका परियारलाई सोमबार राति ८ बजे श्वासप्रश्वासमा समस्या आएपछि एम्बुलेन्समार्फत जनकपुरको प्रादेशिक अस्पताल लगिएको थियो । तर त्यहाँ आइसोलेसन खाली नरहेको भन्दै अन्यत्र लान भनियो ।
त्यहाँबाट जनकपुरका अन्य केही अस्पताल पुर्याइयो । तर कसैले भर्ना लिन मानेनन् । त्यसपछि बाध्य भएर पुनः गाउँकै आरपी मेडिकल हल लगियो । तर त्यहाँ अक्सिन नभएका कारण उनको मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए ।
‘उहाँलाई जनकपुर लग्ने बेला नै श्वासप्रश्वासमा समस्या थियो । मैले एम्बुलेन्समा अक्सिजन लगाइदिएको थिएँ । ठीक हुनुहुन्थ्यो । प्रादेशिक अस्पतालमा भर्ना लिएन । त्यहाँबाट केही निजी हस्पिटलमा पनि गएँ । तर पैसा पहिले नै डिपोजिट गर्नुपर्छ भन्यो,’ एम्बुलेन्स चालक महतोले भने, ‘पैसा नभएको कारणले बिरामीका आफन्तले घरमै फर्काउन र आरपी मेडिकल हलमा राख्न भने । त्यहीं राखदिएँ । अवस्था निकै गम्भीर थियो । म अहिले अर्को बिरामी लिएर काठमाण्डु जाँदैछु । बिहान थाहा भयो, उहाँको मृत्यु भयो ।’
आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले फर्काएर ल्याएपछि बिहानै बिरामीको मृत्यु भएको बताए । आफ्नो पसलकै अगाडि शव राखेर उनका आफन्त र एम्बुलेन्स गएको उनको भनाइ छ । मृतकलाई आरपी मेडिकल हलको अगाडि सिढीमै राखिएको छ । प्रहरी चोकी बटेश्वरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij