२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिन अघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको फोटो र भिडियो प्रहरीले अधिकृतहरूले पाएका थिए ।
सो गाडी चक्रे समूहको भएको पुष्टि भएपछि उनीहरू ‘पुरानै बाटो’ रहेको निष्कर्ष निकालेर निगरानी गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनले भने, ‘सडक आफ्नै जस्तो गरेर छेकेर हिँड्नु त गुण्डागर्दी भयो भन्ने हाम्रो निष्कर्ष छ । ’
चक्रे र उनको समूहले गुण्डागर्दी नछाडेको र नसुध्रिएको निष्कर्षको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गएराति महाराजगन्जमा अपरेसन गरेका हुन् ।
हप्ताभरी जन्मदिन मनाउने कार्यक्रम अन्तर्गत मिलन आफ्नो समूहसँग साम्बालाको आठौँ तलामा पुगेका थिए । गएराति १ बजेतिर उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।
प्रहरीले चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद गरेका छन् । खुकुरी र रड आत्मरक्षाको लागी बोकेर हिँडेको पक्राउ परेका मध्येका राहुल खड्काले प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘खुकुरी आत्मरक्षाको लागि बोकेका हौँ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij