२०८२ भाद्र ११ गते बुधवार
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जेलसजाय काटेर आएका क्षीरेश्वरनाथ नगरपालिका– ९, इच्छापुरका ३५ वर्षीय रामबाबु साह फेरि अर्को हत्याको आरोपमा पक्राउ परेका छन् । आफूले प्रेम गर्दै आएकी महिलाले एकतर्फी प्रेम तोडेको आक्रोशमा उनले १२ साउनमा एक किशोरीको हत्या र दुई महिलालाई कुखुरी प्रहार गरी घाइते बनाएको अभियोग छ ।
धनुषा बटेश्वर गाउँपालि– ५, शान्तिपुर स्थायी घर भए पनि केही वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका– ४, कटैयाँ चोरीमा डेरा गरी बस्दै आएकी आशा यादव, उनकी छोरी अञ्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए । घाइते तीनै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएकोमा अञ्जलीको १३ साउनको राति उपचारका क्रममा मृत्यु भएको थियो । अन्य दुई घाइतेमध्ये राधाको उपचारपछि डिस्चार्ज गरिएको छ भने आशाको अवस्था गम्भीर रहेकाले उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, पक्राउ परेका रामबाबु साह यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भई जेलसजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरेको अभियोगमा उनी पक्राउ परी झण्डै पाँच वर्ष जेल बसेका थिए । २०७७ सालमा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए । तर, श्रीमती हुँदाहुँदै साह पछिल्लो समय आशा यादवसँग प्रेम सम्बन्धमा थिए ।
रामबाबु र आशाबीचको सम्बन्ध परिवारमा समेत खुलेपछि आशाले दूरी बढाउन सुरु गरेकी थिइन् । पछि रामबाबु र आशाले मिलेर जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । प्रेम गरेको बापत रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिएका थिए । तर, केही समयअघि आशाले उक्त रिक्सालाई आफ्नो भाइको नाममा दर्ता गराइदिएकी थिइन् । त्यहीँबाट दुवै जनाबीच प्रेममा दूरी बढेको थियो । पछिल्लो समय आशाले उक्त डेरा परिवर्तन गरी आफ्नै श्रीमान् र छोरीसँग बस्न थालेकी थिइन् । आशाका श्रीमान् वैदेशिक रोजगारमा रहँदै आएका छन् ।
रामबाबुले फोन गर्दा आशाले प्रतिक्रिया नदिने, दूरी कायम गर्न खोज्ने र उनको श्रीमतीलाई समेत म्यासेज गरी झगडा गराउनेजस्ता व्यवहार देखिएपछि रामबाबु आक्रोशमा आएका थिए । घटनाको राति आशाले रामबाबुलाई फोनमा गाली गरेकी थिइन् । त्यसपछि रामबाबु खुकुरीसहित राति ११ बजे आशाको डेरामा पुगेका थिए । प्रहीका अनुसार रामबाबु डेरामा पुगेपछि आशालाई मारपिट गर्न सुरु गरे । त्यसपछि अञ्जलीसहित दुवै बहिनीले आमालाई बचाइरहेका थिए ।
त्यसपछि रामबाबुले हातमा लिएको खुकुरी आशामाथि प्रहार गर्न खोज्दा अञ्जली अगाडि बढेपछि उनलाई नै खुकुरी लागेको थियो । प्रहरी नायब उपरीक्षक सिंहका अनुसार, मातिएका रामबाबुले पछि आशा र भतिजी राधामाथि पनि खुकुरी प्रहार गरेका थिए । घटनामा प्रयोग गरिएको खुकुरी र गाडीसमेत प्रहरीले बरामद गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij