२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड रुपैयाँ हिनामिना र २५ करोड अपचलन भएको पुष्टि भएको छ । लेखापरीक्षण प्रतिवेदनअनुसार करिब ८० करोड रुपैयाँ अध्यक्ष र सचिवद्वारा आफूखुसी चलाएर नीतिगत अपचलन भएको देखिएको छ ।
सहकारीमा व्यापक अनियमितता भएको आशंकापछि छानबिनका लागि एक महिनाअघि सात जना स्वतन्त्र लेखापरीक्षक खटिएका थिए । उनीहरूले बुधबार अन्तिम प्रतिवेदन तयार गरी कार्यसमितिमा बुझाएका छन् ।
कार्यसमितिले सो प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी रजिष्टार कार्यालयमा पठाइसकेको छ । अब कार्यालयले प्रतिवेदनको अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताइएको छ । असार १७ गते सहकारीमा समस्या आएपछि अध्यक्ष र सचिव फरार भएका थिए ।
हालसम्म लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छैन । तर, स्रोतका अनुसार लेखापरीक्षण टोलीले १२ करोड रुपैयाँ हिनामिना, २५ करोड अपचलन र ८० करोड हाराहारीको नीतिगत अपचलन भएको औपचारिक रूपमा पुष्टि गरेको छ ।
टोलीका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘ठूलो परिमाणको हिनामिना र अपचलन देखिएको छ । तर, हामीले प्रतिवेदन सार्वजनिक गर्न पाउँदैनौं । प्रतिवेदन कार्यसमितिलाई जस्ताको तस्तै बुझाएका छौं ।’
यस प्रकरणका मुख्य अभियुक्त सहकारी अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री असार १७ गतेदेखि फरार छन् । उनीहरूको फरार अवस्थाले बचतकर्ता थप अन्यौलमा परेका छन् । दैनिकजसो सहकारीको कार्यालय अगाडि प्रदर्शन गर्दै आएका बचतकर्ताहरूले आफ्ना रकम फिर्ता गर्न माग गरिरहेका छन् ।
बुधबार प्रहरी नियन्त्रणमा रहेकी अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारीले बचतकर्तालाई करिब ७ करोड रुपैयाँ फिर्ता गराउने प्रस्ताव अघि सारेकी थिइन् । बुधबार सम्पन्न छलफलमा उनले सो रकम आफ्नै पहलमा जुटाएर समन्वय समितिमार्फत वितरण गर्न तयार रहेको बताएकी थिइन् । तर, अन्तिममा उनका जेठाजु तथा संस्थाका सल्लाहकार हरि तिवारीको असहमतिको कारण प्रक्रिया अवरुद्ध भएको समन्वय समितिका एक सदस्यले जानकारी दिए ।
‘शारदाजीले सकारात्मक भूमिका खेल्दै रकम उपलब्ध गराउने वाचा गर्नुभएको थियो,तर अन्तिम निर्णयमा उनका जेठाजुको असहमति आयो, त्यसपछि सबै प्रक्रिया रोकियो ।’ उनले भने ।
सल्लाहकार भए पनि हरि तिवारी कार्यसमितिको बैठकहरूमा सहभागी हुन नमानिरहेको संचालकहरूको भनाइ छ । सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । बुधबार प्रहरी नियन्त्रणमा रहेका अध्यक्ष र सचिवका श्रीमतीहरू तथा अन्य संचालकहरूलाई आक्रोशित बचतकर्ताहरूले सहकारी कार्यालयमै थुनेका थिए ।
स्वतन्त्र लेखापरीक्षक योगचन्द्र बास्तोलाले आफूहरूले दुग्ध कारोबारबाहेक सम्पूर्ण आर्थिक क्रियाकलापको अध्ययन गरी ४०३ पृष्ठको प्रतिवेदन तयार पारेको बताए । ‘हामीले सबै हिसाबकिताब अध्ययन गरेर प्रतिवेदनमा समावेश गरेका छौं,थप अनुसूचीसहित विस्तृत विवरण दिएको छौं ।’ उनले भने ।
छानबिन, व्यवस्थापन तथा समन्वय समितिका संयोजक बेलप्रसाद शर्माका अनुसार लेखापरीक्षक टोलीले तयार पारेको प्रतिवेदन बिहीबार नै प्रदेश सहकारी दर्ता रजिष्टारको कार्यालयमा बुझाइएको छ । अब कार्यालयको अनुसन्धानपछि दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढ्ने बताइएको छ ।
करिब २२ सय सदस्य रहेको भनिएको यो सहकारीमा पछिल्लो चरण १८ सय मात्रै रहेको र ती मध्ये ११ सय ऋणि रहेको बताइएपनि छानविन समितिले सबै विवरण सार्वजनिक नगरेकाले सबै विवरण आइसकेको छैन ।
प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका सूचना अधिकारी बाबुराम पन्थीले लेखापरीक्षणको प्रतिवेदन आइसकेको तर आज कार्यालय प्रमुख सुरेशचन्द्र आचार्यमा बिदामा रहेकाले सार्वजनिक नहुने जनाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij