२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम गाउँपालिकामा छ, जनता चाहिँ सहरमा । बसाइसराइले हैरान भएपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले लाभग्राही खोज्दै सहर छिर्ने भएको छ ।
हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर नागरिकहरू पालिकासम्म नआएपछि पालिका नै लाभग्राही खोज्न विभिन्न सहर जाने निधोमा पुगेको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै पालिकामा दर्ता भई चितवन र काठमाडौँमा बसोबास गरिरहेका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ । यसबाट पालिकाको बसाइसराइलाई प्रस्ट पार्छ । सरकारी सुविधा लिन पनि गाउँमा नवीकरणका लागी नजाँदा पालिकालाई अतिरिक्त स्रोत खर्च गर्नुपर्ने बाध्यता बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुवाश आले नागरिकको सहजताका लागि यस्तो निर्णय गरिएको बताउँछन् । ‘सेवा लिन नागरिकहरू आफै आउनुपर्ने हो । तर धेरै असक्त, ज्येष्ठ नागरिक छन्,’ उनले भने, ‘धेरै संख्यामा चितवन र काठमाडौँमा छन् । सेवाग्राहीलाई सहज होस् भन्ने हेतुले गरिएको हो ।’ अघिल्लो वर्षसम्म जनप्रतिनिधिको जिम्माका आधारमा लाभग्राही सूची नवीकरण गर्ने गरिएको तर अहिले बायोमेट्रिक अनिवार्य भएका कारण सेवाग्राही उपस्थित हुनैपर्ने उनले बताए ।
‘यो वर्षदेखि बायोमेट्रिक गर्नुपर्छ । व्यक्ति नै उपस्थित हुनुपर्छ, कतिपय अस्पतालमा उपचार गराइरहेका छन् । झन् बिरामी बढ्न सक्छन् भन्ने लागेर गर्न लागिएको हो,’ अघि भने, ‘हामीले पालिकाभित्र पनि वडा र टोलमा यसैगरी गर्ने गरिएको छ । भत्ता वितरण पनि टोलटोलमै गएर वितरण गरिएको छ ।’ बारपाकका करिब ६ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिकाबाहिर रहेको आलेले जानकारी दिए ।
३ हजार मात्रै गाउँमा छन् । बाँकी ५ सय गोरखा बजारमा, १ हजार जति चितवन र १५ सय जति काठमाडौँमा बसोबास गर्ने उनले सुनाए । पालिकाबाट बसाइसराइ पनि बर्सेनि बढ्दो क्रममा रहेको पालिकाले जनाएको छ । सूचना अनुसार भदौ २६ र २७ गते चितवनमा तथा २९,३० र ३१ गते काठमाडौँमा लाभग्राही नवीकरण हुने उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij