२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । असार २४ को बाढीले तहसनहस पारेको रसुवामा पुनः बाढी आएको छ । चीनतर्फबाट बग्ने ल्हेन्दे र केरुङ खोलामा आएको बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–५ स्थित ५ वटा टहरा बाढीले बगाएको छ । रसुवागढी भन्सार यार्डको धर्ककाँटा पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।
ल्हेन्दे र केरुङ मिसिएपछिको भोटेकोशीले गोसाइँकुण्ड गाउँपालिका स्थित तातोपानी डाँडामा कटान गर्दा पासाङ ल्हामु सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
रसुवागढी हाइड्रोपावरको आवासीय क्याम्पमा असार २४ को बाढीले पुरेको दुई वटा पिकअप बुधवार बिहान आएको बाढीले बगाएको छ । बा।१२ च ४ नम्बरको फोर्स रेन्जर र बा।१० च ९३४० नम्बरको फोर्स रेन्जर पिकअप बगाएको हो । हाइड्रोपावरमा जाने फलामे पुल पनि बाढीले बगाएको छ ।
गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित पासाङ ल्हामु सडक खण्डको १५ मिटर बाटो नदीले कटान गरेर मोटरसाईकल मात्र जाने अवस्थामा छ । सो ठाउँमा सडकमा एउटा बिजुलीको पोल ढलेको रसुवा प्रहरीले जनाएको छ । फेन्लुङमा ५ मिटर सड्क खोलाले कटान गरेको र सो ठाउँमा साना गाडीमात्र पास हुने अवस्था रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij