२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं। ‘पोप्पो लाइभ’ नामक एपमार्फत हजारौं नेपाली ठगिँदै आएको खुलासा भएको छ । लाइभ स्ट्रिमिङको नाममा शुरू हुने यो एप अन्ततः प्रयोगकर्तालाई जुवा खेल्ने जालमा फसाउँछ । शुरूमा पैसा कमाउने लोभ देखाउने एपले प्रयोगकर्ताबाट लाखौं रुपियाँ असुल गर्छ ।
काठमाडौंका बिमलदेखि वैदेशिक रोजगारीबाट फर्किएका मोहन, गृहिणी सरितासम्मको कथनअनुसार उनीहरूले १० लाखदेखि २० लाख रुपियाँसम्म गुमाएका छन् । एपको सुरुवातमा सस्तो गिफ्ट दिएर आकर्षण गराइने र पछि लेभल पास गर्न हजारौँ खर्च गर्न लगाइन्छ । लाइभमार्फत कमाई सम्भव नहुँदा प्रयोगकर्ता गेम (जुवा) तर्फ आकर्षित हुन्छन् र यहीँबाट लुट शुरू हुन्छ ।
विशेषतः महिलालाई लक्षित गर्दै, पोप्पोले पुरुषभन्दा सजिलो पहुँच दिने नीति लिएको छ । एपमा ‘फेस लाइभ’ गर्न महिला प्रयोगकर्तालाई सीधै अनुमति दिइन्छ भने पुरुषले लेभल पार गर्नुपर्छ । क्वाइन किन्ने प्रक्रिया पनि एजेन्टमार्फत हुन्छ, जसमा विभिन्न डिजिटल वालेट र बैंक खाताको प्रयोग गरिन्छ ।
यो एप गुगल प्लेस्टोरमा एक करोडभन्दा बढी डाउनलोड भइसकेको छ तर यसको सञ्चालक वा जिम्मेवार निकाय अस्पष्ट छ । वेबसाइटमै यो एप कुनै ‘एजेन्सी पार्टनर’ द्वारा सञ्चालन गरिएको उल्लेख छ, जसले एपको नियतप्रति शंका बढाउँछ ।
सयौँ नेपाली अहिले पनि यो एपको लतमा फसेर मौन पीडित बनेका छन् । सम्बन्ध बिग्रने डर, समाजमा बेइज्जती हुने त्रासका कारण धेरैले आफैँभित्र पीडा लुकाइरहेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले भने यस्ता किसिमका अनलाइन गेमका भरमा पैसा कमाउने उद्देश्यले प्रलोभनमा नपर्न आग्रह गर्दै यदि प्रलोभनमा परेर ठगिएमा भने साइबर ब्यरोमा उजुरी दिन र सयमा फोन गरेर टिपाउन आग्रह गर्दे भन्नुभयो– ‘त्यसपछि नेपाल प्रहरीले अनुसन्धान गरी कडा कारबाही गर्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij